लुम्बिनी सरकारले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको छ । बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेलले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गर्न लगाएका हुन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले गएराति १२ बजेदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका छन् ।
बिहीबार आर्थिक वर्ष २०७८÷०७९ को बजेट पारित गर्न निर्णायर्थ पेश गर्नुअघि सत्तापक्षका सांसदहरू बैठक छोडेर प्रदेशसभाबाट बाहिरिएका थिए ।
जसपाबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझी राज्यमन्त्रीबाट राजीनामा दिएर उपेन्द्र यादव समूहमा फर्किएपछि मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका छन् ।
८२ सदस्यीय लुम्बिनी प्रदेशसभा सत्तापक्ष र विपक्षी गठबन्धनतर्फ समान ४१ / ४१ सांसद छन् । बजेट पास गराउन पोखरेललाई बहुमत पुर्याउन कम्तिमा ४२ सांसदको समर्थन जरूरी हुन्छ ।
तर, बहुमत नपुग्ने सम्भावना देखेपछि सत्ता पक्षका सांसदहरू प्रदेशसभा बैठक छोडेर हिँडेका थिए ।
बजेट नै पास नगरी मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरिएपछि जसपाका संघीय सांसद इस्तियाक राईले ‘ओली पथमा शंकरजी र विद्या पथमा धर्मनाथ। राति १२ पछि अनैतिक काम’ सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।