कैलाली - नेपालको पश्चिमी तराईमा बसोवास गर्ने थारु समुदायले मनाउने ‘अटवारी’ पर्व आजदेखि सुरु भएको छ । दुई दिनसम्म मनाउने पर्व कैलाली–कञ्चनपुर लगायत बाँके र बर्दिया जिल्लाहरुमा मुख्य रूपमा आपसी मेलमिलाप, एकता र सुमधुर पारिवारिक सम्बन्धको प्रतीकको रुपमा मनाउने गरिन्छ ।
थारु समुदायमा स्थानीय रूपमा आइतबारलाई ‘अटावर’ को नामले चिनिन्छ र त्यो पर्व ‘अटावरी’ को नाम एउटै शब्द बाट राखिएको थारु अगुवा प्रभात चौधरीले बताए । उनले श्रीकृष्ण जन्माष्टमीपछि आउने दोश्रो आइतबारबाट अटवारी पर्व सुरु हुने बताए ।
चाडपर्वको शुरुवातसंगै, थारु समुदायका बुबा र भाइहरू दिनभरी कडा उपवास (पानी समेत नपिई) छोरीहरू र दिदी बहिनीहरूको दीर्घायुको कामनाका लागि व्रत बस्ने चलन रहेको अगुवा चौधरीले बताए । अट्वारीको दोस्रो दिन अर्थात सोमबार बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् ।पूजापाठपछि ब्रतालुले आफ्नो खानाको परिकारबाटआधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रही आएको छ । सोमबार बिहानको भोजनलाई थारु भाषामा ‘फ्राहार’ भनिन्छ । अघिल्लो दिन (आइतबार) र दोस्रो दिन (सोमबार) ब्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागी फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीबेटीलाई यसै दिन दिने चलन छ ।
छोरीचेलीलाई वर्षभरीको सम्झनास्वरूप पठाउने कोसेलीलाई ‘अग्रासन’ भनिन्छ । विवाहित छोरीचेलीले दाजुभाइहरूले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकारलगायतका पकवानसहितको कोसेली आउला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरी माइतीमा आउन नपाएका दिदीबहिनीहरू यसै पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् ।द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारु समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरी भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको बसोबास रहेको कैलाली र कंचनपुरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।