×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन ढालिदै

टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन ढालिदै

काठमाडौं - काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको (इच्छुमति) टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरुले धमाधम घर खाली गर्न थालेका छन् ।

काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ । त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन् । तीमध्ये जय नेपाल हाल, त्यससँगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन् ।

टुकुचालाई खुला रुपमा बग्न दिने र वरिपरि करिडोर बनाउने योजनासहित चार दिनअघि जय नेपालबाट टुकुचा क्षेत्र खाली गर्न थालिएको हो । त्यस क्रममा हिजो शनिबार लक्ष्मी बंैकको छेउको रुख काटेको थियो । त्यसलगत्तै बेसमेन्टमा प्वाल पारेर ढाकिएको टुकुचा खाली गर्न शुरु गरेको हो ।

कामपालाई सबैभन्दा ठूलो तनाव लक्ष्मी बैंकको मुख्यालय भत्काउनु रहेको छ । कामपा शहरी विकास विभाग प्रमुख सुरज शाक्यले भन्नुभयो– ‘हामीले दिएको सूचना पालना नगरेपछि एक्सनमा गएका हौं ।’ कामपाले टुकुचा हडपेको विषयमा ड्रोनबाट तस्वीर खिचेर पत्ता लगाएको थियो ।

कामपाका अनुसार सो क्षेत्रमा ३३ वटा नक्सा पास नगरी बनाइएका घर रहेका छन् । ‘पहिलो चरणमा काठमाडौं मलसम्मको क्षेत्र खाली गर्नेछौं, त्यसपछि दायाँबायाँका संरचना हटाउनेछाैं । यो काम गर्न महानगरलाई अझै एक महिना लाग्न सक्छ । नारायणहिटी दरबार परिसरबाट बाहिर निस्केदेखि नै टुकुचा छोपिएको छ । छोपिएको भाग खोतलेर पूर्ण रुपमा टुकुचालाई सौन्दर्यीकरण गर्न केही दिन लाग्ने अनुमान गरिएको छ । मेसिन लगाए चाँडै खाली हुनेछ भने मान्छेले काम गरे धेरै समय लाग्नेछ’ –काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भन्नुभयो ।

महानगरले पहिलो चरणमा करिब ७ अर्ब रुपियाँ खर्चेर टुकुचा खोला खाली गर्नेछ ।४ सय ४० मिटर खण्डमा टुकुचा कहाँ–कहाँ बग्छ भन्ने विषयमा कामपाले ड्रोन र स्थानीयको सहयोग लिएको थियो । महानगरले स्रोतबाटै टुकुचा सफा र खुला गर्ने तयारी गरिरहेको छ । शहरी विकास विभागका निर्देशक शाक्यले पहिलो चरणको काम सकेलगत्तै दोस्रो चरणको काम शुरु गरिने जानकारी दिनुभयो । कामपाले पहिलो दिन मध्यरातसम्म काम गरेको थियो । जय नेपालको पर्खाल भत्काएर चुकुचा बगिरहेको क्षेत्र पहिचान गरेपछि महानगरले सबै क्षेत्रमा भत्काउन शुरु गरेको हो ।

टुकुचाको पहिलो स्रोत शंखपार्क र बाँसबारी क्षेत्र हो । त्यहाँबाट शुरु भएको टुकुचा भाटभटेनीको टुँडालदेवी मन्दिरनिर पुग्छ । त्यसपछि नारायणहिटी, नील सरस्वती मन्दिर, तीनधारा मार्ग, बागबजार, प्रदर्शनीमार्ग, सैनिक हेडक्वार्टर, थापाथली, त्रिपुरेश्वर हुँदै कालमोचन घाटमा पुगेर वागमतीमा मिसिन्छ । महानगरले महत्वाकांक्षी योजनालाई सफल बनाएर अन्य खोलाको अतिक्रमित जग्गा सरकारी नाममा दर्ज गराउनेछ ।

पहिलो चरणको काम सकेलगत्तै वागबजारबाट दोस्रो चरणको काम शुरु गर्ने योजना रहेको महानगरले जनाएको छ । वागबजार क्षेत्रको वडा कार्यालयले सम्बन्धित निकाय र खोला छोपेर बनाइएका संरचना खाली गर्न आग्रह गरिसकेको छ । सोही आग्रहको आधारमा हामीले केही दिनपछि मात्रै बाँकी क्षेत्र खाली हुने शाक्यको भनाइ छ । आजको नेपालसमाचार पत्र दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्