काठमाडौं- स्थानीय तह निर्वाचनको परिणाम अपेक्षा गरेजस्तो नआएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको विवरण सार्वजनिक भइरहेका छन् । ११ जेठमा ओलीले गठबन्धनका एउटा घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने अहिल्यै एमाले–जसपा सहकार्य गर्नेबारे कुनै प्रगति नभएको बताउँछन् । ‘राजनीतिक दलका नेताहरूबीच छलफल नहुनु नराम्रो होइन’, उनले न्युज कारखानासँग भने, ‘तर, राजनीतिक एजेन्डाकेन्द्रित छलफल भएको छैन । सहकार्य गर्नेबारे निष्कर्ष निस्किसकेको अवस्था पनि छैन ।’
यादव गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग असन्तुष्ट छन् । असन्तुष्ट रहेकै बेला अध्यक्ष ओलीले यादवसँग भेटवार्ता गर्नुलाई गठबन्धनका अन्य घटकहरूले शंकाको रूपमा हेरेका थिए । तर, यादव आफैं सहभागी भएको गठबन्धनको सोमबारको बैठकले जिल्ला समन्वय समिति (जिसस) र गठन गर्न बाँकी रहेका गाउँ/नगर कार्यपालिका सदस्य निर्वाचनमा तालमेल गर्न प्रदेशहरूलाई निर्देशन दिएको छ ।