×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा भूराजनीतिक चलखेल चीनलाई अस्वीकार्य

नेपालमा भूराजनीतिक चलखेल चीनलाई अस्वीकार्य

काठमाडौँ- चिनियाँ स्टेट काउन्सीलर वाङ यीले नेपालमा भूराजनीतिक चलखेलको प्रयास अस्वीकार्य रहेको बताएका छन् । तीन दिने भ्रमणमा रहेका उनले नेपालमा हुने कुनै पनि किसिमको भूराजनीतिक चलखेलको प्रयासको चीनले विरोध गर्ने बताएका हुन् । 

शनिवार प्रधान मन्त्री शेरबहादुर देउवा र आफ्ना समकक्षी डाक्टर नारायण खड्कालाई भेटेका उनले नेपाल-चीन सहकार्यबाहेक भूराजनीतिक चुनौतीले दुई देशबीचको सम्बन्धमा पार्ने प्रभावका बारेमा राय राखेका थिए । विदेशमन्त्री वाङले अन्तर्राष्ट्रिय वा दुई देशको घरेलु अवस्थामा जस्तो सुकै परिवर्तन आए पनि चीनले दुई देशका नेताहरूले तय गरेको मार्गचित्रलाई समर्थन गर्ने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

नेपालप्रति मित्रवत् नीतिहरूलाई अडिग भएर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । त्यसबाहेक नेपाल र चीनको साझा भविष्य निर्माण गर्ने दिशामा दुवै देशलाई लाभ हुने सहकार्यमा पनि प्रतिबद्ध भएर चीन अघि बढ्ने सन्देश वाङ यील दिएका छन् ।

विदेशमन्त्री वाङले चीनले नेपाललाई स्वतन्त्र घरेलु र विदेश नीति सञ्चालनका लागि समर्थन गर्ने बताए । ‘चीनले नेपालको मामिला नेपाली नागरिकहरू स्वयंले निर्णय गर्नुपर्छ भन्ने विश्वास राख्छ । चीनले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता अवमूल्यन गर्ने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालमा भूराजनीतिक चलखेलमा संलग्न हुने प्रयासको विरोध गर्छ ।’ उनले भने ।

परराष्ट्रमन्त्री खड्काले एक चीन नीति प्रति प्रतिबद्धता जनाउँदै नेपाली भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिने धारणा राखेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले अमेरिकी अनुदान सम्झौता मिलेनिअम च्यालेन्ज कर्पोरेशनको संसद्‌बाट अनुमोदन गर्ने क्रममा बेइजिङ र वाशिङ्टन डीसीबाट प्रकट भएका चासोहरू सेलाउन नपाउँदै विदेशमन्त्री वाङ नेपाल आइपुगेका हुन् । –बीबीसीकाे सहयाेगमा -तस्बिर : रासस

प्रतिकृया दिनुहोस्