काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत साताको जेन-जी प्रदर्शनमा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको गम्भीर आरोप लगाएका छन्। उनले यस घटनाको तत्काल गहिरो छानबिन गर्न माग गर्दै प्रदर्शनमा घुसपैठ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको दाबी गरे।
संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै ओलीले सरकारलाई चुनौती दिएका छन्। उनले भनेका छन्, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। तर, प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ।’ यसबाट घटनाको पछाडि ठूलो रहस्य लुकेको संकेत उनले गरेका छन्।
ओलीले उक्त घटनामा ज्यान गुमाएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भइरहेको आक्रमणविरुद्ध सम्पूर्ण नेपालीलाई एकजुट हुन आह्वान पनि गरेका छन्।
पूर्वप्रधानमन्त्री ओलीले हालैका घटनाहरूलाई 'षड्यन्त्र' को संज्ञा दिएका छन्। उनले सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयहरूमा भएको तोडफोड र आगजनीलाई सुनियोजित हमला बताए। उनले यस्ता कार्यहरूले देशको सार्वभौमसत्ता र संविधानमाथि गम्भीर चुनौती खडा भएको चेतावनी दिए।