×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

घुस 'डिल' प्रकरण: प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री गुप्ताले दिए राजीनामा

घुस 'डिल' प्रकरण: प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं - घुस 'डिल' सम्बन्धी अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यस प्रकरणमा चासो देखाउँदै राजीनामा दिन निर्देशन दिएपछि मन्त्री गुप्ताले राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री ओलीले यस विषयमा मन्त्री गुप्तालाई बालुवाटार बोलाएर सोधपुछ गर्दै २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएको बताइएको छ । सोही निर्देशनअनुसार, मन्त्री गुप्ता राजीनामा पत्र बोकेर बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठकमा व्यस्त रहेकाले उनले आफ्नो राजीनामा पत्र प्रधानमन्त्रीको सचिवालयमा छाडेर फर्किएका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, सार्वजनिक भएको अडिओको सत्यतथ्य पत्ता लगाउन त्यसलाई फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको छ । साथै, यो प्रकरणको निष्पक्ष छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका राज्यका नियामक निकायलाई पत्राचार गरिने तयारी भएको छ ।

केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र केही कर्मचारीको सरुवाको विषयलाई लिएर मन्त्री गुप्ता र बिचौलियाबीच लाखौं रुपैयाँको घुस लेनदेनबारे कुराकानी भएको अडिओ सार्वजनिक भएको थियो । अडिओ बाहिरिएसँगै मन्त्री गुप्तामाथि छानबिन गरी बर्खास्त गर्न चौतर्फी दबाब बढेको थियो ।

प्रतिकृया दिनुहोस्