काठमाडौं- साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार ओरालो लागेको छ । आइतबार उच्च अंकले बढेको सेयर बजार लगातार दुई दिन घटेको हो । सोमबार घटेर बन्द भएको बजार मंगलबार २.५७ बिन्दुले घटेर १९५६.३६ बिन्दुमा झरेको छ ।
यस दिन कुल २२६ वटा स्टकको १८ हजार ४७२ वटा कारोबारबाट २७ लाख ७३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँ बराबरको भएको छ ।
मंगलबार वित्त, निर्जीवन बीमा, अन्य र जीवन बीमा उपसमूहमा हरियाली देखियो । अन्य सबै उपसमूहको मूल्य घटेको छ । मंगलबार सबैभन्दा धेरै व्यापार उपसमूहले गुमाएको छ ।
घट्दो बजारमा पनि सबैभन्दा धेरै लाइभ इन्स्यारेन्स कर्पोरेसनको मूल्य २.२२ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल रिइन्स्योरेन्स कम्पनी, बलेफी हाइड्रोसहितका कम्पनीको मूल्य धेरैले बढेको छ ।कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.७७ प्रतिशतले घट्यो । यस दिन मन्दाकिनी हाइड्रो, मनकामना स्मार्ट लघुवित्त, सिटिजन्स म्युचुअल फण्डसहितको मूल्य धेरैले घटेको छ । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।