बर्दिबास - मधेश प्रदेशमा स्वतन्त्रबाट प्रदेशसभामा सदस्यमा जितेकी सुरिता कुमारी साह जसपा प्रवेश गर्दा मन्त्री पद उपहार पाएकी छन् । मधेश सरकारले शुक्रबार गरेको मन्त्री परिषद विस्तारमा जसपाबाट सुरिता सामाजिक विकास मन्त्री बनेकी हुन् ।
महोत्तरी क्षेत्र नं. २ (ख)बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र जितेकी सुरिता मन्त्री पदकै लागि केही दिन अघि जसपामा प्रवेश गरेकी थिइन् । उीनसंगै पर्साको क्षेत्र नं. ३(क) बाट निर्वाचित प्रमोद कुमार जयसवाल पनि प्रवेश गरेका थिए ।
मन्त्री भएकी सुरिता २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट प्रत्यक्ष जितेकी थिइन् । पछि जसपा हुँदै लोसपा हुँदा पनि उनलाई कुनैपनि पद पाइनन् । गत चुनावमा गठबन्धनको भागवण्डामा उनको क्षेत्र काँग्रेसको भागमा परेपछि साहले पार्टी परित्याग गर्दै स्वतन्त्रबाट चुनाव लडेकी थिइन् ।
उनले कांग्रेसका उम्मेदवार नागेश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएकी थिइन् । सरकार गठनको बेला समर्थन दिएकी सुरिता मन्त्री पाउने सर्तमा जसपा प्रवेश गरेकी थिइन् । मधेश प्रदेश सरकारकै पहिलो क्याबिनेट मन्त्री बन्ने सौभाग्य पाएकी हुन् ।