काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले मुलुकको विकासका लागि एक दशक महत्वपूर्ण समय रहेको बताएका छन् । उनले राष्ट्रलाई आवश्यक युवा जनशक्ति भए पनि त्यसको प्रभावकारी रुपमा प्रयोग गर्न नसक्दा मुलुकको विकास अपेक्षा अनुसार हुन नसकेको बताएका हुन् ।
काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा रहेको ज्ञानकुञ्ज एजुकेसन फाउण्डेसनले बुधाबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजनीतिक परिवर्तनसँगै मुलुकको समृद्धिका लागि गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए ।
मन्त्री शर्माले सक्षम नागरिक बनाउन विद्यायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले राजनीतिक परिवर्तन राष्ट्र निर्माणका लागि मात्र भएकाले शिक्षित जनशक्तिले देशको समृद्धिमा योगदान दिनुपर्ने बताए ।
आफूले मुलुक र नागरिकको हितका लागि काम गर्ने भएकाले युवाहरुलाई खबरदारी गर्न उनको आग्रह छ । राष्ट्र निर्माणका लागि सक्षम युवाहरुको साझा संकल्प आवश्यक रहेकाले सीमित स्रोतसाधनको अधिकतम उपयोग गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ ।
फरक प्रसंगमा मन्त्री शर्माले मुलुकमा जारी व्यापार घाटा वैदेशिक परनिर्भरता अन्त्य गर्न उत्पादन र निर्वाहमुखी अर्थतन्त्रलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे ।