काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनका क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्ने प्रचारको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफूहरू कुनै आरोप र जिम्मेवारीबाट नभाग्ने बताएका छन्।
मेयर शाहले सिंहदरबारमा आगो निभाउने प्रयास गर्दा भीडले काम गर्न नदिएको स्पष्ट पारेका छन्। "सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन," उनले भने, "नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन। कारण थियो हुलले दमकललाई काम गर्न नदिएको।"
उनका अनुसार, भीड शान्त भएलगत्तै महानगरको दमकल सिंहदरबार पुगेको थियो। "जब भीड अलिक शान्त हुने बित्तिकै २४ गते साँझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो," बालेनले भनेका छन्।
मेयर शाहले महानगरभित्र जुनसुकै संरचना जले पनि त्यसलाई जोगाउने प्रमुख दायित्व आफूहरूको रहेको बताएका छन्। "दमकल ५/२३ गते दिउँसो १:३० देखि ५ बजेसम्म संसद् भवन अगाडि आगो लागिरहेको एम्बुलेन्समा न्युरोड र रामहिटी दमकलले आगो निभाइरहेको थियो," उनले भने, "न्युरोडकै अर्को दमकलले सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाइरहेको थियो।"
उनले २४ गते बिहानैदेखि कुनै पनि दमकल सञ्चालनमा आउन नसकेको र राति ८ बजेदेखि १ बजेसम्म काम गरिरहेको दाबी गरेका छन्।