काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । लगानीकर्ताले आज सोमबारदेखि यसमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेको छ । अब सर्वसाधारणका लागि कुल १७ लाख १ हजार ५ सय कित्ता आईपीओ खुल्ला गरिएको हो । कम्पनीले आफ्नो जारी पूँजी ८३ करोडको ३५ प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो ।
प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जानकारी दिएको छ ।
लगानीकर्ताले अनलाइन प्रणाली मेरोसेयरका साथै सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।
यद्यपि, यो जलविद्युत् कम्पनी हाल नोक्सानीमा रहेको छ । आयोजना सञ्चालनमा नआएकाले गत चैत मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ४ करोड १५ लाख रुपैयाँ रहेको छ । यसका साथै, प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १६ पैसा रहेको छ ।
बुङ्गल हाइड्रोले बझाङ जिल्लामा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको अनुमति बहाल रहने अवधि २६ वर्ष १० महिना रहेको छ । केयर रेटिङ नेपालले कम्पनीलाई 'केयर एनपी बी' (Care NP B) रेटिङ प्रदान गरेको छ ।