सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् ।
२७ जेठमा बसेको बैंकको सञ्चालक समितिको ३४५ औं बैठकले १८ असारदेखि लागु हुने गरी पोखरेललाई सीईओमा नियुक्त गरेको हो । उनी २०७८ वैशाख १८ गतेदेखि कामु सीईओमा कार्यरत थिए । विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए । शुक्रबारदेखि उनले बैंकको सीईओ भएर पदभार सम्हालेका थिए ।
स्ट्याण्डर्ड चाटर्ड बैंकमा १६ वर्ष, एनआईसी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष काम गरेका पोखरेल पछिल्लो २ वर्ष सिभिल बैंकमा कार्यरत थिए । त्यस्तै नेपाल बाहिर स्ट्याण्डर्ड चाटर्ड बैंक अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाइटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष गरी ६ वर्षसमेत गर्दा बैंकिङ क्षेत्रमा उनको कुल ३ दशक लामो अनुभव छ ।
कार्यालयको कार्य प्रणालीलाई डिजिटलाइज गरी कागजरहित बैंकिङको अवधारणा अनुसार अघि बढ्ने उनको योजना छ । त्यस्तै, ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउने, व्यवसायको आयतनमा व्यापक वृद्धि गर्ने, सेयरधनीलाई उचित प्रतिफल दिने योजना रहेको बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पुर्याउने कुरामा आफू विश्वस्त रहेको बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले बताए । बैंकले चालु आर्थिक वर्षमा व्यवसायिक आकारमा राम्रो प्रगति गरेको र आगामी दिनमा निरन्तर प्रगति गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ८८ अर्ब ९४ करोड निक्षेप संकलन गरी ८३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।