काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भएमा राजनीतिक उपलब्धि गुम्ने बताएका छन् । पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी कमजोर भएमा २०६२०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने बताएका हुन् ।
स्थानीय तह निर्वाचनमार्फत जनताले देशको चाबी माओवादीलाई दिएको उनको भनाई छ । ‘हामी तेस्रो हुदाँहुदै पनि निर्णायका भएका छौं । स्थानीय तह निर्वाचनमार्फत जनताले चाबी हामीलाई दिएका छन्,’ अध्यक्ष प्रचण्डले भने ।
उनले माओवादी केन्द्र रिभाइभ हुने सम्भावना बढेको बताए । ‘देश पोहोर साल झण्डै दुर्घटनामा जाने खतरामा थियो । माओवादी पार्टी बलियो हुन जरुरी छ,’ प्रचण्डले भने, ‘माओवादी पार्टी पुरै रिभाइभ हुने सम्भावना छ । जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् ।’
विधिसम्मत र प्रक्रियागत ढंगले उम्मेदवार खडा गरिसकेपछि त्यस्तो उम्मेदवारलाई व्यक्तिको रुपमा नहेरेर पार्टीको रुपमा हेर्ने हो भने माओवादीको जितलाई कसैले रोक्न नसक्ने उनले प्रस्ट पारे । ‘सवाल पार्टीलाई जिताउने कि हराउने भन्ने हो, कुनै अमुक व्यक्तिलाई हराउने या जिताउने भन्ने होइन,’ उनले भने ।