काठमाडौं - सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन 'पाशाङ' का छोरा दिपेश पुनलाई बुटवल पुर्याइएको छ।
शुक्रबार दिउँसो काठमाडौँमा पक्राउ परेका उनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न शुक्रबार राति नै बुद्ध एयरको विमान मार्फत बुटवल पुर्याइएको हो।
सहकारीको सवा १ अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवल प्रहरीले सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका एकजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। उक्त सहकारीको रकम हिनामिना गर्ने प्रमुख जिबी राई फरार छन्।
उनी संस्थापक सचिव रहेको सहकारीमा बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पुनविरुद्ध पक्राउ पुर्जी जारी भएकाले त्यहाँ लगिएको हो।
बुटवलका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन्। जिबी राई अध्यक्ष र दिपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख बिजयराज पण्डितले दिपेश पुनविरुद्ध सहकारीका बचतकर्ता पिडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताए।
सुप्रिम सहकारीका अध्यक्ष जिबी राई सचिव दिपेश पुन र वर्तमान अध्यक्ष ओम गुरुङ लगायतले बचतकर्ताले जम्मा गरेको सवा १ अर्ब रकम अपचलन गरेको आरोप छ।