काठमाडाैँ- प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकाेटाकाे एमसीसी मात्रै संसद्मा लान नमिल्ने बताएका छन् । सभामुख सापकाेटानिकट स्राेतकाअनुसार उनले यस्ताे अडान लिएका हुन् । स्राेतले सभामुख सापकाेटालाई उद्धृत गर्दै भन्याे- ‘एमसीसी मात्रै लाँदा लफडा हुन्छ । त्यसैले यसलाई मात्रै अघि बढाउनु हुन्न ।’
बिहान बसेकाे बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सभामुखकाे जस्तै धारणा राखेका थिए । यद्यपि प्रधान मन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भने संसद्मा टेबुल भएपछि प्रक्रियाअनुसार अघि बढ्ने र त्यसलाई सबैले स्वीकार्नुपर्ने बताएका छन् ।
आइतबार बसेकाे सत्तारुढ गठबन्धनकाे बैठकमा एमसीसी संसद्मा टेबुल गर्ने सहमति बनेकाे छ । दिउँसाे १ बजे बस्ने बैठकमा एमसीसी टेबुल हुने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । त्यसकाे औपचारिक निर्णय जारी कार्यव्यवस्था परामर्श समितिकाे बैठकले गर्ने प्रवक्ता कार्कीकाे भनाइ छ ।