काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आफ्नो आधिकारिक उम्मेदवार घोषणा गरेको छ । पार्टीको सचिवालय बैठकले ९ जना आकांक्षीहरुमध्येबाट थापालाई चयन गरेको हो ।
उम्मेदवारका लागि डा. थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री प्रतिस्पर्धामा थिए । रास्वपाले उम्मेदवार चयनका लागि भदौ १२ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन प्राइमरी इलेक्सनको आयोजना गरेको थियो । पार्टीको दाबी अनुसार, उक्त अनलाइन भोटिङमा सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्तिलाई उम्मेदवार घोषणा गरिएको हो ।
डा. लेखजंग थापा एक वरिष्ठ न्युरोलोजिस्ट हुन् । उनले एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी र न्युरोलोजीमा एमडी गरेका छन् । हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज, काठमाडौंको न्युरोलोजी विभाग प्रमुखका रुपमा कार्यरत छन् । साथै, उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत हुन् ।