काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघ(एफसीएएन)को अध्यक्षमा रवि सिंह विजयी भएका छन्। नेपाली काँग्रेस निकट मानिएका सिंहले सत्तारुढ पार्टी निकट यक्षध्वज कार्कीलाई पराजित गरेका हुन्।
शनिबार राति सम्पन्न मत गणनामा सिंहले ४६६ मत ल्याएर विजय हात पारेका छन्। त्यस्तै कार्कीले भने ३५३ मतमात्र पाएका थिए। अध्यक्षको प्रतिस्पर्धामा रहेका रामशरण देउजाले भने ६६ मतमात्र पाए। देउजा पनि काँग्रेस निकट व्यवसायी हुन्।
वरिष्ठ उपाध्यक्षमा सिंह प्यानलकै निकोलस पाण्डे निर्वाचित भएका छन् । एशोसियट्स उपाध्यक्षमा आङ दोर्जी लामा, महासचिवमा रोशन दाहाल, कोषाध्यक्षमा हिरण श्रेष्ठ, आन्तरिक उपमहासचिवमा नरहरी थपलिया र नीतिगत उपमहासचिवमा टंक चौलागाई निर्वाचित भए।
प्रत्येक प्रदेशबाट एउटा उपाध्यक्ष निर्वाति गरेको महासंघको साधारणसभाले प्रदेश १ मा धिरेन्द्र कुमार दाहाल, प्रदेश २ मा सुरेन्द्र प्रसाद सिंह, प्रदेश ३ मा पेम्बा लामा, गण्डकी प्रदेशमा राजेन्द्र पहारी, प्रदेश ५ मा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा राम बहादुर खड्का र प्रदेश ७ मा टेक बहादुर सेठ्ठी उपाध्यक्ष निर्वाचित गरेको छ।
सिंहले अबको दिनमा पनि समग्रमा निर्माणका काम समानुपातिक रुपमा वितरण गर्ने एजेन्डा रहेको बताए । सबैलाई अबसर प्रदान गर्ने पाँच वटा प्याकेजलाई संस्थागत गर्ने तर्फ अग्रसर रहने सिंह बताउँछन् ।'सार्वजनिक खरिद ऐनलाई व्यवसायी मैत्री बनाउने तर्फ लागिरहेको छु अबको दिनमा पनि लागि परिरहने छु,' सिंहले भने।