काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजना भएको एमाले बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले सरकारले विभिन्न बहनामा निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘मंसिरमा संघीय संसद र प्रदेश सभा सदस्यका लागि आम निर्वाचन हुनुपर्नेछ तर विभिन्न बहाना बनाएर निर्वाचन पर सार्ने खतरा छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले समयमा निर्वाचन हुनुपर्ने भन्दै त्यो निर्वाचनबाट राष्ट्रवादी सरकार बन्नुपर्ने बताए ।
उनले वर्तमान सरकारले संविधानमाथिको थिचोमिचो गरिरहेको भन्दै गत फागुनमा हुनुपर्ने निर्वाचन वैशाखमा गरिएको त्यो पनि एमालेको दबाबले मात्रै सम्भव भएको बताए ।
ओलीले सरकार सञ्चालकहरू अयोग्य साबित भएको, भ्रष्ट साबित भएको, नातावाद कृपावादलाई आदर्श बनाएर कुदेको, देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेल्दै लगेको, अन्तर्राष्ट्रिय सम्बन्धलाई अनुचित ढङ्गले खलबल्याएको र देशको भविष्य नै के होला भन्ने गम्भीर चिन्ता पैदा भएको बताए ।
उनले आफ्नो नेतृत्वको सरकार भएका बेला संवृद्धि र विकासको लय समाते पनि गठबन्धन सरकार बनेपछि त्यो बिग्रेकाले आगामी निर्वाचनपछि देशलाई संवृद्धि र विकासका उद्देश्य प्राप्त गर्ने गरी बढ्नुपर्ने समेत बताएका छन्।