काठमाडौं - लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि दिएको समयसिमा आज अपरान्ह ३ बजे सकिँदै छ । अहिलेसम्म नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासहितको विपक्षी गठबन्धनले बहुमतको सरकारको दाबी गरेको छ । ४२ सांसदको हस्ताक्षरसहित गठबन्धनले प्रदेश प्रमुख शेरचनलाई दाबीपत्र बुझाइसकेको छ ।
मुख्यमन्त्रीको दाबी गरेर विपक्षी गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चालगायतको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबीसहित हस्ताक्षर बुझाइएको हो ।
बुधबार एमालेका संसदीय दलका नेता शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको ढोका खुलेको हो । केसीलाई मुख्यमन्त्री दाबी गर्दै विपक्षी गठबन्धनका संयोजक तथा नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियालगायतले हस्ताक्षर बुझाएका थिए । मुख्यमन्त्री पदको लागि केसीबाहेक अन्यको दाबी पर्ने सम्भावना छैन । किनकि, मुख्यमन्त्री दाबी गर्दै आफ्नो पार्टीले निवेदन नदिने एमालेले जनाइसकेको छ ।
यसर्थ, गठबन्धनका तर्फबाट केसी नै मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । उहाँले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।
त्यस्तै आजै अन्य तीन जना गठबन्धनको तीन दलबाट मन्त्री बन्दैछन् । कांग्रेसबाट डिल्ली चौधरी, माओवादीबाट कृष्णध्वज खड्का र जसपाबाट सहसराम यादव मन्त्री बन्ने स्रोतले जनाएको छ । उनीहरुले कुन मन्त्रालयको जिम्मेवारी दिँदैछ भन्ने विषय बाहिरिएको छैन ।