काठमाडौं - वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक नयाँ सूचीअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन्, जसले गर्दा समग्र औसत ब्याजदरमा गिरावट आएको छ ।
बैंकहरूको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.६९७५ प्रतिशतमा झरेको छ । असार महिनामा यस्तो औसत ब्याजदर ५.९०२ प्रतिशत थियो ।
कुन बैंकले घटाए, कसले बढाए?
साउनमा १४ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । सबैभन्दा धेरै ब्याजदर घटाउनेमा प्रभु बैंक रहेको छ । बैंकले असारको तुलनामा १.८५ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो । असारमा व्यक्तिगत मुद्दती निक्षेपमा ६.१ प्रतिशतसम्म ब्याज दिएको प्रभु बैंकले साउनमा यसलाई घटाएर ४.२५ प्रतिशतमा झारेको छ ।
ब्याजदर घटाउने अन्य बैंकहरुमा कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।
यसैबीच, दुई बैंकले भने साउनमा ब्याजदर बढाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले ब्याजदरमा वृद्धि गरेका हुन् ।
त्यस्तै, चारवटा बैंकले आफ्नो ब्याजदरलाई स्थिर राखेका छन् । ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।