×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विचार

वाह रे वाह अमेरिका ! नेपालका नेपालीलाई कहाँबाट कहाँ पुर्याइस् तैंले ? - कृष्णराज शर्मा

वाह रे वाह अमेरिका ! नेपालका नेपालीलाई कहाँबाट कहाँ पुर्याइस् तैंले ? - कृष्णराज शर्मा

अमेरिका - मलाई विदेशमा बस्दा मातृभुमीको अझ बेसी याद हुन्छ । किनकि म धेरै पटक विदेशीएको छु । त्यो अनुभव मसंग बढ्दो भएको छ । त्यस्तै अरुको हकमा पनि यो लागु भएकै हुनुपर्छ । आज जुन भूगोलमा म छु नेपाली चाडवाडको उत्तिकै संझना भैरहेको छ । आधुनिक प्रबिधिले क्षणक्षणमा आफ्नै देश घुमाईरहन्छ ।

गएको जनैपुर्णिमाबाट यो सालका चाडबाड शुरुभए । चाडवाडकाे रमाइलाेमा गरिएका नाचगान देखेपछि आजै पुगौं अहिलेनै पुगौं यो मनले भन्छ । तर मन पुगेपनि तन पुर्याउन कहाँ सजिलो छ र ! संसारमा गीतसंगीतले मन नछुने मान्छे शायदै होलान् । म पनि अछुतो छैन । नेपाली गीतसंगीत भ्याएसम्म सुन्छु हेर्छु । अझ लोकसंगीतमा बढी रमाउँछु म ।

एकसुरमा मैले अहिलेको सर्वाधिक चर्चित तीजगीत 'चरी जेलैमा' सुन्दैथिए । ठिक यसैबेला एकजना नानी मेरो समीपमा आएर सोधिन्- के सुन्दै हुनुहुन्छ अंकल ? कानको एअरपड निकाल्दै मैले भनें- के सुन्नु,नेपालमा तीजले ढपक्कै ढाकिसक्यो । तीजका गीतले नेपाल पुरै तीजमय भएको छ । मलाई पनि तीजले छोएको छ । हप्तामै करोड भ्युज नाघेको बिष्णु माझीको त्यहि तीजगीत सुन्दैछु-'चरी जेलैमा' । मेरो कुरा सुनेर उनले त,नाक पो खुम्च्याईन्,लौ ज्या ! हैन,तीजमा तीजका कुरागर्दा किन खिन्न हुनुभयो नानी ? यो तपाईंहरुको चाड हो नि मैले भनें । उनले त,मलाई 'त्यति तीज मनपर्दैन' पो भनिन् । हे राम ! के सुन्नु पर्यो यस्तो ? म छक्क परें ।

वाह रे वाह अमेरिका ! नेपालका नेपालीलाई कहाँबाट कहाँ पुर्याइस् तैंले हैन ? नेपाली नारीलाई नेपाली तीज मन पर्दैन रे ? आफ्नो संस्कृति मन पर्दैन रे ? अरुले भनेको हो र ? नेपालमा जन्मेर हुर्केर अमेरिका आएकी ति नारीलाईनै तीज मन नपर्नु,क्या गज्जब ! मनमनै प्रश्न गर्दै आँफैलाई विष्मयतापुर्वक शान्त पारें । संस्कृति भुलियो भने भाषा भुलिन्छ । भाषा र संस्कृति दुवै भुले नेपालीपन र नेपालीहुनुको अस्तित्व भुलिन्छ मात्रै होईन मेटिन पुग्छ । बच्चाबच्चीकी एउटी नेपाली आमाले नै यस्तो भावना राखेपछि उनका छोराछोरीहरुलाई भन्नु नै के रह्यो र ! उनका सन्ततीबाट नेपाली भाषा संस्कृतिका प्रति के आशा राख्ने ? जति 'धन' भएपनि आफ्नो 'पन' बाँचेन भने हामी नेपाली हौं भन्नुको के नै अर्थ !?

हुनत अमरिकामा काम, काम र काम नै गर्नुपर्छ अनि दाम,दाम र दाम नै हुनुपर्छ । नत्र,'अमेरिकन नेपाली' हुन गाह्रो छ । फेरीपनि ' नेपाली अमेरिकन' भएर देखिनु त पर्छ नै ! त्यसैले सानोतिनो जमघट घुमघाममा रमाएका चलअचल दृश्य नदेखाउने हो भने हामी नेपालीहरु 'अमेरिकन' भैंदैन । तिनै तीज मन नपर्ने नानीसंग भेटेको पर्सीपल्ट यसो फेसबुक खोलेको त शुरुमै उनैको चलदृश्य सहितको कोठामा नाचेको दृश्य मेरो आँखाले देख्यो । उहि चरी जेलैमा भन्ने भाकामा नेपाली सारी लगाएर नाच्दा कस्ति राम्री देखिएकि मोरी त ! हँ बाई, भित्रि कुरो यसो पो ! उनको नचरी देखेर म फेरी रमाएँ ।

त्यहि काम,काम र कामले फेशन लगाउनै पाईन्न यहाँ । दराजमा थन्किएको थन्कियै हुन्छन् कपडा । यहि तीज-सिजको मौका पारेर दश ठाउँमा कार्यक्रम बनाउने हो । दशै ठाउँमा जाने दशवटा फेशन देखाउने त हो नी ! भन्ने बेलामा तीज मन पर्दैन भन्ने भित्रभित्र यहि तीजको बहानामा फेरीफेरी फेशन लाउने र मनको धोको मेट्ने यहि तीज त रहेछ नी ! ठिक छ आज बल्ल उनको भित्री मन बुझें र अस्तिको उनको भनाई तत्काललाई जबर्जस्ति पचाई दिएँ ।

यसो सोच्दा नानीको भनाई र गराईमा के लाग्यो भने समकालिन समाजमा बजारिया र गाउँमा बस्ने रहनसहनमा प्रशस्त विभेद थियो । तीजमा बाटो लागेकालाई देखेर खिसिट्युरी हुन्थ्यो । बजारियाहरु पर्वतेहरुको ( गाउँलेको ) तीज भन्थे । तीजको समयमा बाहुनीहरु नयाँ राता गुन्यु चोलीमा सजिएर बजारपुग्दा बजारियाहरुले खिस्सि गर्थे । चेलिबेटीहरु लाछाडोरी र फुर्केडोरीमा सजिने परम्परा थियो । यस्ता पहिरनसंगै यस्सो राम्रा कपडा लगाएपछि र मनखुशिको दुईपैसा आफ्नो साथमा हुनेवित्तिकै बजारमा जाने चलन थियो । बजारका काँठमा सुकिला कपडा लगाएर कोही सजिएको देख्ने वित्तिकै साथीसंगी छरछिमेकीको प्रश्न बन्थ्यो - ओई,बजार जान लागेको हो ? माईत जान लाग्यौ ? अथवा स-साना केटाकेटीलाई मामाघर जाने हो भनेर सोधिन्थ्यो ? कतै यि नानीलाई हिंजोको त्यहि विभेदयुक्त खिस्सि भैन्छकि भन्ने प्रभाव परेर तीजको गीत सुन्दिन भन्न परेको त हैन भन्ने लख काटेर चित्त बुझाएँ ।

उहिलेका हुनेखाने अहिलेका गरिखाने जत्तिकै त थिए । हिंजोको समाजमा आर्थिक अवस्थाले लाउन खान विभेद गर्थ्यो । अहिले पनि विभेदयुक्त त छ तर, ऋणं कृत्वा घृतम् पिवेत् भनेझैं कोहीभन्दा कोही कम देखिन्नन् । हुनुपर्ने पनि छैन । मात्रै काम,काम र कामले फेशन लगाउनै पाईन्न यहाँ । फेशनेबल पोशाक दराजमा थन्किएको थन्कियै हुन्छन् । यहि तीजको अबसर पारेर दश ठाउँमा कार्यक्रम बनाउने र दशै ठाउँमा जाने अनि दशवटा फेशन देखाउने त हो नी ! भन्ने बेलामा तीज मन पर्दैन भन्ने भित्रभित्र यहि तीजको बहानामा फेरीफेरी फेशन लाउने र त्यत्रो मनको धोको मेट्ने यहि तीज त रहेछ नी ! ठिक छ आज बल्ल उनको भित्री मन बुझें र अस्तिको उनको भनाई तत्काललाई पचाई दिएँ ।

जसले तीजलाई खिस्सि गर्थे र तीजमा रुची नराख्नेहरु पनि अहिले तीज महिनैपिच्छे आए हुन्थ्यो भन्ने चाहना व्यापक बनेकोछ । पहिला चाडवाडमा मात्रै नयाँ पहिरन फेर्ने अवस्थाबाट हाम्रो समाज एउटा फोटो खिचिसकेपछि पुन त्यहि पहिरनमा दोहोर्याउने चलन पुरानो भयो । दिनहुँ प्रकटहुने फेशनहरुले अहिलेका युवायुवतीको ध्यान नराम्ररी तानेकोछ । दिनानुदिन तिनै नयाँ फेशनमा सजिन थालिएको छ । यिनै फेशन देखाउन पनि हामीलाई यौटा माध्यम चाहिएको छ । त्यो माध्यम बन्नको लागि तीजपर्व अतिनै उत्तम सावित भएकोछ । नहुनेलाई कठैबरा हुनेलाई हराभरा भनेजस्तै हुनेहरुलाई आफ्नो हैसियत प्रदर्शन गर्ने भरपर्दो माध्यम तीज बनेकोमा कसैको दुईमत नहोला । एकातिर यस्तो छ भने अर्कोतिर अहिले चर्चाको शीखर नाघेको 'चरी जेलैमा' भन्ने गीतको भावमा परेकाहरुको वेदनाले भरिएको ठुलो पंङ्ति जस्ताको तस्तै छ ।

अन्त्यमा, मसंग भेटिएकी नानी एउटा प्रतिनिधिमुलक पात्र मात्र हुन् । उनीजस्तै अरु नानीहरुमा पनि यस्तो भावना नहोला भन्न सकिन्न । हाम्रा चाडवाडा हामीले गौरब गरौं हिन भावना कहिल्यै नराखौं । खिस्सि गर्नेहरुसंग संधै डटेर लडौं । हाम्रा धर्म कला साहित्य संस्कृति संस्कार भाषा भेष रहनसहनको बारेमा हाम्रो भूगोलको जुन कुनामा बसेपनि कदापी भुलौं । हामी नेपालीहरुको नियतिले निर्माण गरेको बाध्यतामा परदेशी बन्नु परेको यथार्थलाई मनन गर्दै हरेक नेपालीले आफ्नो नेपाली मौलिक पहिचानलाई सदैव बचाउनु पर्दछ । विभिन्न कारणले देश गुमाएका थुप्रै देशका नागरिकहरु आज आफ्नो मातृभुमीको आँगन टेक्न नपाएर व्याकुल छन । हामी नेपालीलाई त्यसोत कहिल्यै हुनेछैन । तर देश छोडेर जहाँ जुनजुन ठाउँमा छौं अथवा रहन्छौं त्याहाँ हामी संगसंगै नेपालको उपस्थिति गराउने हामीले नै हो । हाम्रो धर्म संस्कृतिको संरक्षण गर्ने हामीले नै हो । नेपाली भनेर गर्वगर्ने भनेकै हाम्रो भाषा संस्कृति र धर्म नै हो भन्दै नेपाली महिलाहरुको महान चाड तीजको उपलक्षमा नेपाल र संसारभरी छरिएर रहेका संपुर्ण नेपाली दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

बाल्टिमोर

प्रतिकृया दिनुहोस्