×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

श्रीमतीसँग सम्बन्धको शंकामा दाइद्वारा भाइको विभत्स हत्या

श्रीमतीसँग सम्बन्धको शंकामा दाइद्वारा भाइको विभत्स हत्या

काठमाडौं - अर्घाखाँचीको शितगंगा नगरपालिका–६ पाखापानीमा एक व्यक्तिले आफ्नै सहोदर भाइको बन्चरो प्रहार गरी हत्या गरेका छन्। आफ्नी श्रीमतीसँग भाइले अनुचित सम्बन्ध राखेको शंकामा ४२ वर्षीय टेकबहादुर वादीले ३२ वर्षीय भाइ ओमबहादुर वादीको हत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

इलाका प्रहरी कार्यालय ठाडाका अनुसार, बिहीबार साँझ करिब साढे ५ बजे दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी विवाद गरेका थिए। सोही क्रममा रिसको आवेगमा टेकबहादुरले भाइमाथि बन्चरो प्रहार गरेका थिए। घटनापछि भारततर्फ भाग्ने तयारी गरिरहेका अभियुक्त टेकबहादुरलाई स्थानीयको सूचनाको आधारमा प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरी निरीक्षक दीपक सिंह विष्टले घटनाको थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि पठाइएको जानकारी दिए।

स्थानीयका अनुसार, मृतक ओमबहादुर अविवाहित थिए र दाजुभाउजूसँगै बस्दै आएका थिए। उनीहरूको पारिवारिक आचरण र सम्बन्धलाई लिएर पटक–पटक विवाद हुने गरेको वडा सदस्य कमल ज्ञवालीले बताए। उनले भने, "उनीहरूको विवादबारे धेरैले सुनेका थिए र मिलाउने प्रयास पनि भएको थियो, तर यस्तो दुःखद घटना घट्यो।"

यो घटनाले वादी परिवारमा ठूलो बज्रपात परेको छ। दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारमा कान्छो भाइको मृत्यु भएको छ भने माइलो जेल जाने निश्चितजस्तै छ। उनीहरूका जेठा दाजु अपाङ्गता भएका व्यक्ति हुन्। अभियुक्त टेकबहादुरका ५ र जेठा दाजुका ४ छोराछोरीको भविष्य अब झनै अन्धकारमय बनेको छ।

प्रतिकृया दिनुहोस्