काठमाडौं - सामाजिक सञ्जालमा हुने निरन्तरको गालीगलौज र व्यक्तिगत चरित्रहत्याबाट आजित भएपछि चर्चित गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले प्रतिकारको नयाँ बाटो रोजेका छन्। अब उनीहरूले अपमानजनक टिप्पणी गर्ने र अभद्र व्यवहार गर्ने प्रयोगकर्ताहरूको पहिचान नै उनीहरूको सामाजिक सञ्जाल प्रोफाइलमार्फत पर्दाफास गर्न थालेका छन्।
गायिकाद्वयको यो कदमलाई धेरैले समर्थन जनाएका छन्। उनीहरूले अपमानजनक टिप्पणी गर्ने प्रयोगकर्ताको पहिचान नै सार्वजनिक गरिदिएपछि कतिपयले गायिकाद्वयसँग माफीसमेत मागेका छन्।
केही दिनअघि गायिका अधिकारीले आफूलाई अभद्र कमेन्ट गर्ने एक व्यक्तिको फेसबुक प्रोफाइल सार्वजनिक गरेकी थिइन्। आफ्नो पहिचान खुलेपछि ती व्यक्तिले समीक्षामार्फत माफी मागे, जसपश्चात् समीक्षाले उक्त पोस्ट हटाउँदै आफूले माफी दिएको जानकारी गराएकी थिइन्।
यही शैलीलाई पछ्याउँदै बुधबारदेखि गायिका एलिना चौहानले पनि आफूलाई अपमानजनक टिप्पणी गर्नेहरूको प्रोफाइल धमाधम सार्वजनिक गरिरहेकी छन्। समीक्षाले पनि यो क्रमलाई निरन्तरता दिएकी छन्। सामाजिक सञ्जालमा प्रोफाइल सार्वजनिक भएपछि कतिपय प्रयोगकर्ताले गायिकाद्वयसँग सीधै माफी मागिरहेका छन्।
यसअघि एलिनाले एक भिडियो सन्देशमार्फत अब यस्ता नकारात्मक गतिविधिलाई सहेर नबस्ने र आवश्यक परे कानूनी उपचारमा जाने चेतावनी दिएकी थिइन्। उनको चेतावनीपछि पनि नकारात्मक कमेन्ट आउन नरोकिएपछि उनले असभ्य टिप्पणी गर्नेहरूको प्रोफाइल नै सार्वजनिक गर्ने अभियान थालेकी हुन्।
यसअघि पनि अभिनेत्री ऋचा शर्मा तथा टिकटक स्टारद्वय प्रिन्सी र प्रिज्मा खतिवडाले आफूविरुद्ध आउने अमर्यादित टिप्पणी गर्नेहरूको प्रोफाइल सार्वजनिक गरेका थिए। पछिल्लो समय सामाजिक सञ्जालमा महिला कलाकारहरूले निरन्तर यस्ता अपाच्य टिप्पणी र साइबर बुलिङको सामना गरिरहेका छन्, र यस्ता केही घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा समेत ल्याइएको छ।