×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

असल चरित्रको प्रभाव

काठमाडौं-एकपटक एक जिज्ञासु व्यक्ति एक सन्तको आश्रममा पुगे । केही समयको भलाकुसारीपछि उनले सन्तसित प्रश्न गरे– महाराज ! रंग, रूप, बनोट, स्वभाव, परिस्थिति प्रायः सबै समानजस्तै भए पनि कतिपय मानिसले निकै ठूलो प्रगति गर्छन्, समाजमा मान, सम्मान र इज्जत कमाउँछन् । जब कि, तीमध्ये कैयौँ मानिस पतनको गहिरो खाडलमा खसेर डुबिरहेका हुन्छन् । आखिर यस्तो किन हुन्छ ? सन्तले जवाफ दिए– तिमी भोलि बिहान सबेरै मलाई तलाउको किनारमा भेट । म तिम्रो प्रश्नको जवाफ त्यहीँ दिनेछु । 

भोलिपल्ट बिहान सबेरै जिज्ञासु तलाउको किनारमा पुगे । सन्त पहिल्यै पुगिसकेका थिए । सन्तका हातमा दुई समान आकार, प्रकार, रूप र रंगका कमण्डलु थिए । हेर्दा दुवै कमण्डलु समान देखिए पनि दुईमध्ये एकको पिँधमा एउटा प्वाल परेको देखिन्थ्यो । 

जिज्ञासु निकट आइसकेपछि सन्तले दुवै कमण्डलुलाई एक–एक गरेर तलाउमा फ्याँके । प्वाल नपरेको कमण्डलु पानीमा तैरिइरह्यो । तर, केही क्षण पानीमा तैरिए पनि प्वाल परेको कमण्डलुचाहिँ एकैछिनमा डुब्यो र बेपत्ता भयो ।

यो सब हेरिरहेका जिज्ञासुतिर फर्केर सन्तले भने– दुवै कमण्डलु रूप, रंग र आकारमा उस्तै थिए । तर, दुईमध्येएकको पिँधमा प्वाल थियो । सद्दे कमण्डलु अझै पानीमा तैरिइरहेको छ भने प्वालवाला कमण्डलु उहिल्यै पानीको गहिराइमा डुबेर विलीन भइसक्यो । 

मानिसलाई पनि उसको असल चरित्रले संसार सागरमा तैरिन मद्दत गर्छ । त्यही चरित्रको बलमा उसले संसारमा खुब प्रगति गर्छ, मान, सम्मान र इज्जत कमाउँछ । तर, जसको चरित्रमा दोष (प्वाल) हुन्छ, ऊ यही कमण्डलुजस्तै पतनको गर्तमा फस्छ र कहिल्यै उत्रिन सक्दैन ।

प्रतिकृया दिनुहोस्