काठमाडौं - आजदेखि धरहरा सर्वसाधारणका लागि दैनिक १२ घण्टा खुला भएको छ। सहरी विकास मन्त्रालयका अनुसार, अब धरहरा हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ।
यसअघि बिहान १० देखि बेलुकी ४ बजेसम्म मात्र खुल्ने धरहराको समय कम भएको गुनासो आएपछि अवलोकन अवधि बढाइएको हो। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निर्देशनमा नागरिकको सुझावलाई ध्यानमा राख्दै यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
अब धरहरा दुई सिफ्टमा सञ्चालन हुनेछ र सार्वजनिक बिदाका दिनहरूमा पनि खुला रहनेछ।
विसं २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा गत मंसिरदेखि सशुल्क खुला गरिएको थियो। हालसम्म टिकट बिक्रीबाट करिब ४ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ भने दुई लाख ३७ हजारभन्दा बढीले यसको अवलोकन गरिसकेका छन्।