काठमाडौं - देशको केन्द्रीय चिकित्सालय, वीर अस्पतालले ब्रेन ट्युमरका बिरामीहरूका लागि एक महिनासम्म निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्ने घोषणा गरेको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा अस्पतालले आउँदो जुन महिनाभर यो विशेष अभियान सञ्चालन गर्ने भएको हो।
अस्पतालको न्युरो सर्जरी विभाग अन्तर्गत रहेको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले यो पहल अघि बढाएको हो। विभागका असिस्टेन्ट प्रोफेसर तथा न्युरो-सर्जन डा. सुशील मोहन भट्टराईका अनुसार, हाल ब्रेन ट्युमरको शल्यक्रियाका लागि बिरामीले करिब दुई हप्तासम्म पालो कुर्नुपर्ने बाध्यता छ।
"अहिले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गरी बिरामीको लामो पर्खाइलाई अन्त्य गर्दै ४८ घण्टाभित्रै शल्यक्रिया गर्ने हाम्रो लक्ष्य हो," डा. भट्टराईले भने।
वीर अस्पतालले वार्षिक रूपमा ८ सय देखि १ हजार जनासम्म ब्रेन ट्युमरका बिरामीको सफल शल्यक्रिया गर्दै आएको छ। यो निःशुल्क अभियानले आर्थिक अवस्था कमजोर भएका तथा लामो समयदेखि पालो कुरिरहेका बिरामीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।