काठमाडौं - कर्णाली प्रदेशमा एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकार ढलेको छ। काङ्ग्रेस र नेपाली कम्युनिस्ट पार्टीले असार ३२ गते दर्ता गराएको अविश्वासको प्रस्तावमाथि शनिबार प्रदेशसभामा छलफल सुरु हुनासाथ मुख्यमन्त्री कँडेलले पदबाट राजीनामाको घोषणा गरेका हुन्।
संसदलाई सम्बोधन गर्दै कँडेलले आफ्नो लागि सत्ता र कुर्सीभन्दा विधि र पद्धति ठूलो रहेको बताउँदै राजीनामा दिएका थिए। २०८० चैतमा मुख्यमन्त्री बनेका कँडेलले आफ्नो छोटो कार्यकालमा थुप्रै प्रशासनिक तथा नीतिगत सुधारका कामहरू गरेको दाबी गरे। मुख्यमन्त्रीको राजीनामासँगै कर्णालीमा नयाँ सरकार गठनको ढोका खुलेको छ।