काठमाडौँ- राष्ट्रिय सभा उपाध्यक्षका लागि मनोनयन दर्ता आज हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा मनोनयन दर्ताको कार्यक्रम रहेको हो ।
संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः१५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचनको कार्यक्रम रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो ।
राष्ट्रिय सभा उपाध्यक्षमा सत्तारुढ दल र कांग्रेसले उम्मेदवारी दिने बताइएको छ । सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रूपमा अघि सारेको छ । विपक्षी दलले भने आज उम्मेदवार चयन गर्दैछन् ।
राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि विपक्षी दलहरूको बैठक आज पनि बस्दैछ । शनिबार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भएको थियो । यद्यपि सो बैठकमा निष्कर्ष निस्कन सकेन । जसकारण बैठक फेरि आज बिहान बस्न लागेको हो ।