जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले यसबीच दीपक मनाङेलाई भेटेको स्वीकार गर्दै उनको बचाउ गरेका छन् । 'गुण्डा नाइके' छवि बनाएका मनाङे प्रदेश सांसद् हुँदै मन्त्री बनेपछि आलोचना भइरहेको छ । उक्त आलोचनाहरुबाट मनाङेको बचाउ गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले जन्मजात कोही पनि अपराधी नहुने बताएका हुन् ।
मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् । उनको नेतृत्वमा गठित सरकारमा मनाङेलाई पनि बिनाविभागीय मन्त्री बनाइएको छ । प्रदेश सभा विघटन हुन नदिन स्वतन्त्र सांसद मनाङेले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
यसअघि गुरुङ नेतृत्वकै सरकारमा खेलकुदमन्त्री रहेका मनाङे विश्वासको मत दिने बेला सरकारको विपक्षमा उभिए र यही जेठ २७ गते प्रदेश सभा बैठकमा मतदान चलिरहँदा सम्पर्कविहीन बने । त्यसबेला डा. भट्टराई र उनी सँगै रहेको तस्बिर सार्वजनिक भएको थियो । उक्त तस्बिरपछि आफूले मनाङेलाई भेट गरेको स्वीकार गरेका हुन् ।
सोही विषयमा मनाङे विपक्षी गठबन्धनको सरकारमा बिनाविभागीय मन्त्री बनेको भोलिपल्ट आइतबार बिहान डा. भट्टराईले आफ्नो स्पटीकरण वक्तव्य सार्वजनिक गरेका हुन् ।
डा. भट्टराईको भनाइ
राजीव गुरुङ (दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यस क्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न।
मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अत: अपराध/अपराधी एक सापेक्ष अवधारणा हो।
मैले २०५९/०६० सालको दोस्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ– नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्। अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्। त्यही सोचका साथ आफू प्रम छँदा मैले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुन सकेको छैन।
रत्नाकर वाल्मीकि बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरुङले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन वञ्चित गर्ने? किन पूर्वाग्रह राख्ने?