काठमाडौं- मूल्यवृद्धिले गर्दा बजार मूल्यमा परेको असरका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ।
पेट्रोलियम पदार्थमा भएको अस्वाभाविक मूल्य वृद्धिले जनजीवन प्रभावित भएको भन्दै प्रतिपक्षी दलका सांसद्हरूले प्रस्ताव दर्ता गराएका हुन्। प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित एमालेका यज्ञराज सुनुवार र गणेश कुमार पहाडी समर्थक रहेर तत्काल संसद्मा छलफल गर्न माग गर्दै सो प्रस्ताव दर्ता भएको हो।
मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै दर्ता भएको प्रस्तावमा खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेल लगायतका पदार्थमा भइरहेको चुहावट, कमिसन र अत्यधिक करलाई न्यूनीकरण गर्न सरकारको प्रयासबारे जवाफ मागिएको छ।