काठमाडौं - औद्योगिक क्षेत्रको प्रतिष्ठित घराना 'शंकर ग्रुप'का अध्यक्ष शंकरलाल अग्रवाल सम्पत्ति शुद्धीकरणको अभियोगमा शुक्रबार पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। अग्रवालको पक्राउ व्यवसायी दीपक भट्टसँग जोडिएको शंकास्पद आर्थिक कारोबारको अनुसन्धानसँग सम्बन्धित छ।
राष्ट्र बैंकको वित्तीय सूचना इकाई (FIU) ले शंकर ग्रुपअन्तर्गतको 'जगदम्बा स्टिल'को बैंक खाताबाट दीपक भट्टको खातामा ठूलो परिमाणमा शंकास्पद रकम स्थानान्तरण भएको फेला पारेपछि अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो।
सोही आधारमा विभागले थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै विशेषगरी जगदम्बा स्टिल, हिमालयन रि-इन्स्योरेन्स, इन्फिनिटी होल्डिङ, आयुष्मा नेपाल र अञ्जना नेपालबीचको आर्थिक कनेक्सनबारे विस्तृत विवरण माग गरेको छ। भट्टसँगको व्यावसायिक सहकार्य र यी कम्पनीहरूबीचको शंकास्पद लेनदेनका कारण अग्रवाल यतिबेला गम्भीर अनुसन्धानको दायरामा तानिएका छन्।