×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फागुमा कस्तो रङ प्रयोग गर्ने ?

फागुमा कस्तो रङ प्रयोग गर्ने ?

काठमाडौं-पछिल्लो समय फागु खेल्ने तरिका पनि फरक हुँदै गएको छ । पहिले नेपालमा फागु खेल्दा अर्गानिक कलरको प्रयोग गरिन्थ्यो । टमाटर, झारपातहरूलाई सुकाएर धुलो बनाएर रङ बनाइन्थ्यो । अहिले अर्गानिक रङ उत्पादन गरिँदैन । त्यसैले बजारमा सेन्थेटिक रङहरू प्रयोग गरिन्छ । सेन्थेटिक रङ प्रयोग गर्न सजिलो पनि छ । यसले छालालाई नकारात्मक असर पनि गरिरहेको हुन्छ । 

फागुमा प्रयोग गरिने रङ र अबिरमा खतरनाक रसायन मिसाइएको हुन्छ । त्यसकारण रङ वा अबिर अनुहार लगाउँदा आँखा र कानमा नपरोस् भनेर सचेत हुनुपर्छ । 

फागु खेलेपछि अधिकांशलाई छाला पोल्ने, टट्याउने, रङ परिवर्तन हुने वा छाला सुक्खा हुने समस्या हुन्छ । रङ लगाउनेबित्तिकै पोल्ने, चिलाउने, फोका निस्कने जस्ता समस्या देखिन सक्छ । बिस्तारै छाला सुक्खा हुँदै जान्छ । रङ लगाएको ठाउँमा छाला फुट्ने जस्ता समस्या देखिन्छ । धेरै लामो समय यस्ता रङहरू दल्यो भने क्यान्सरजस्ता रोग पनि लाग्न सक्छ । 

फागुको सांस्कृतिक महत्व 
मालाई अहिले धेरैले होली भन्ने गरेका छन् । तर, नेपालको पहाडी भूभागमा मनाइने फागु र नेपालको तराई तथा भारतमा मनाइने होलीको सांस्कृतिक महत्व भने फरक–फरक छ ।पहाडमा फागुन शुक्ल पूर्णिमाका दिन फागु खेलिन्छ । फागु भनेको रङको महोत्सव हो ।

दसैँमा मान्यजनको हातबाट टीका थाप्ने चलन भए पनि यस दिन मान्यजनलाई उनीहरूभन्दा सानाले रङ दल्ने चलन छ । चुत्रोको डाँठको पहेँलो रङ, काफलको बोक्राको कलेजी रङ, सेतो कमेरो माटो, कालो माटो, रातो माटोलगायत अर्गानिक रङहरू दलेर विगतमा होली मनाइन्थ्यो र त्यसले छालासम्बन्धी समस्या पनि निको भएर जान्थ्यो । अहिले केमिकलयुक्त रङदेखि मोबिलसम्मको प्रयोग हुने गरेको छ, जसकारण उल्टै छालासम्बन्धी रोग निम्तिने गर्छ । 

दिनभर होली खेलेपछि काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा पूर्णिमाको मध्यरातमा चिर दाह गर्ने चलन छ । यस दिन चन्द्रमा आफ्नो १६ कलाले पूर्ण भएको हुन्छ । अष्टमीको दिनमा चिर उत्थान गर्ने र पूर्णिमाको दिन चिर दाह गर्ने चलन पहाडमा छ । यसको प्रसंग कृष्णलीलासँग जोडिएको छ । 

नेपालको तराई र भारतमा भने पूर्णिमाको मध्यरातमा होलिका दहन गरिन्छ । पहाडमा चिर दाह गर्नुअघि नै होली खेलिन्छ, तराई र भारतमा भने होलिका दहन गरेको भोलिपल्ट होली खेल्ने चलन छ । किंवदन्तीअनुसार विष्णुभक्त प्रह्लादलाई जलाउने उद्देश्यले उनलाई काखमा राखेर होलिका नामकी राक्षस्नी आगोमा बसेकी थिइन् । तर, होलिका आफैँ जलिन्, प्रह्लाद जलेनन् । यही सम्झनामा पूर्णिमाको दिन होलिका जलाएर भोलिपल्ट होली खेल्ने चलन भारत र नेपालको तराईमा छ । पहाड र तराईमा फरक–फरक दिन होली खेलिनुको कारण यही नै हो । 
 

प्रतिकृया दिनुहोस्