भरतपुर- भरतपुर–४ उत्तर आनन्दपुरकी पूर्णकला सुवेदी चापागाईले मसला र तेल विनाको अचार उत्पादन सुरु गर्नुभएको छ । सवारी दुर्घटनामा परेर सहज हिडडुल गर्न नसक्ने हुनुभएकी पूर्णकलाले आयआर्जनका लागि घरमै अचार बनाएर बेच्न थाल्नुभएको छ ।
३ वर्ष पहिले वेनीबाट नारायणगढ आउने क्रममा सवारी दुर्घटनामा परी दाहिने खुट्टा ४ ठाउँमा र दाहिने हात २ ठाउँमा भाँचिएको थियो । हालसम्म १० पटक अप्रशेसन गर्नुभएकी उहाँले फरक स्वादको अचार बनाउन सुरु गर्नुभएको छ । “अहिलेसम्म १५० बट्टा बेचिसकेको छु”, उहाँले भन्नुभयो, “मसला र तेलविनाको अचारको बजारीकरण गर्न सहज छैन, तर हरेश खाएको छैन ।” गाजर, खुर्सानी, काँक्रो, मिक्स अचार बनाउन सुरु गर्नुभएको छ ।
स्टीम गरेर पानीमा डुबाएर तयार गरिने अचारमा अमिलो, नुन र केही अर्गानिक स्वादका लागि केही फ्लेभर मिसाएर बनाइन्छ । “अचार उत्पादन फर्म दर्ता गरेर देशभरी अचार बेच्ने लक्ष्य लिएको छु”, उहाँले भन्नुभयो, “अहिले मसला र तेल विनाको अचार पनि हुन्छ भन्ने गरी परीक्षणका रुपमा बेचिरहेका छौँ ।”
१० वर्ष इजरायल बस्दा अचार बनाउन सिक्नुभएकी उहाँले दुर्घटनाबाट शरिर कमजोर बनेपछि आयआर्जनका लागि परीक्षण उत्पादन थाल्नुभएको हो । उहाँका श्रीमान, एक छोरी र एक छोरा हुनुहुन्छ । छोरा प्रसन्नले मुरे ब्राण्डका रुपमा अचारलाई बजारीकरण गर्न लागिएको बताउनुभयो । “ममीको रेसीपीका रुपमा मुरे ब्राण्डमा अचार बनाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “फर्म दर्ता गर्ने प्रक्रियामा छौँ ।”