×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेको दोश्रो विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने

एमालेको दोश्रो विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने

काठमाडौं - नेकपा एमालेको बहुप्रतिक्षित दोस्रो विधान महाधिवेशन आज (सोमबार) बाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने यो महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्नुहुनेछ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना गरी कुल २ हजार ३ सय ४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिनुभयो। अधिकांश प्रतिनिधिहरू काठमाडौं आइसकेको गौतमले बताउनुभयो।

महाधिवेशन स्थलसम्म पुग्ने सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा भव्य स्वागतद्वार निर्माण गरिएको छ। एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ।

गौतमका अनुसार उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ। प्रतिनिधि परिचय स्क्यान गर्न ६ वटा कम्प्युटरका बुथ राखिएका छन्। सोही बुथबाट प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकहरूले प्रवेश पाउनेछन्। प्रतिनिधिहरूलाई सनराइज हलमा प्रवेशका लागि चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ।

महाधिवेशन स्थललाई निकै आकर्षक बनाइएको छ। प्रवेशद्वारबाट हल छिर्दासाथ दायाँतिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्बिर र दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ। हलको भित्तामा महाधिवेशनको लोगो, 'नेकपा (एमाले)' र अंग्रेजीमा 'CPN UML' ले स्वागत गरिएको छ। पानीका फोहोरा भएका साना पोखरीमा सेता हाँसका जोडी खेलिरहेका हुनेछन्।

महाधिवेशन स्थल परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र जननेता मदन भण्डारीका पूर्ण कदका तस्बिर राखिएका छन्। यसैगरी कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्बिरहरू प्रदर्शनमा राखिएका छन्।

प्रतिकृया दिनुहोस्