काठमाडौँ- नेविसंघले नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपाबाट नेताहरूलाई खुला पत्र लेखेको छ। कलम विद्रोह भन्दै नेविसंघले काँग्रेस केन्द्रीय कार्यसमितिलाई सामूहिक खुला पत्र लेखेको हो।
सामूहिक खुला पत्र लेखेर नेताहरूलाई ध्यानाकर्षण गरिएको नेविसंघ नेता भुवन भट्टले जानकारी दिए। नेविसंघलाई पूर्णता दिनुपर्ने माग उनीहरूको छ। नेविसंघमा अध्यक्ष दुजाङ शेर्पामात्रै छन्, पदाधिकारी तथा केन्द्रीय समिति छैन।
साउन मसान्तभित्र नेविसंघलाई पूर्णता दिने भने पनि काँग्रेस सभापति शेरबहादुर देउवाले अझै पूर्णता दिन सकेका छैनन्। नेविसंघकै अस्तित्व सङ्कटमा परेकोले नेताहरूलाई ध्यानाकर्षण गरिएको भट्ट बताउँछन्। उनीहरूले नेविसंघको १२ औँ महाधिवेशन सुनिश्चितता हुनुपर्ने माग पनि गरेका छन्। खुला पत्र लेख्न सानेपामा विभिन्न क्याम्पस इकाइका नेविसंघ नेता तथा कार्यकर्ता उपस्थित थिए।
नेविसंघकी पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले नेविसंघको वैधानिक पूर्णताका लागि ‘कलम विद्रोह’ गरिएको बताइन्। नेविसंघ लामो समयदेखि अध्यक्षले मात्रै चलाएको अवस्थामा पार्टीले नेविसंघलाई पूर्णता दिनेतर्फ ध्यान नदिएको आरोप उनीहरूको छ।
नेविसंघले खुलापत्र उपसभापति धनराज गुरुङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई बुझाएका छन्।