काठमाडौँ- नेपाल प्रहरीले आगामी निर्वाचनको सुरक्षाका लागि ठुलो संख्यामा म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गतको भर्ना छनोट शाखाले बिहीबार सूचना जारी गर्दै १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरी माग गरेको हो।
सूचना अनुसार इच्छुक नेपाली नागरिकले आगामी पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक बिदाको दिन समेत आवेदन खुला रहने र सबै जिल्ला प्रहरी कार्यालयहरूबाट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म फाराम भर्न सकिने प्रहरीले जनाएको छ।
यो पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्ने नेपाली नागरिकहरू योग्य हुनेछन्। आवेदन दिएकाहरूको अन्तिम नतिजा भने पुस १२ गते* प्रकाशन गरिने सूचनामा उल्लेख छ।

