ओसाका (जापान)। नेपालका आदिवासी जनजातिहरूको मौलिक कला, संस्कृति, भाषा र पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यसहित नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) कान्साई जापान ले पहिलो पटक ‘नेफिन कल्चरल फेस्टिभल कान्साई २०२६’ आयोजना गर्ने भएको छ। आगामी सेप्टेम्बर १८ र १९ मा हुने महोत्सवको औपचारिक घोषणा पत्रकार सम्मेलनमार्फत गरिएको हो।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवं नेफिन कान्साईका सल्लाहकार अमर लामा ले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषता भएको राष्ट्र भएकाले यही विविधता नेपालको मौलिक पहिचान र शक्ति भएको बताए। उनले जापानमा रहेका नेपाली समुदायले आफ्नो भाषा, भेषभूषा, कला, संस्कृति र पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु समयको आवश्यकता भएको उल्लेख गरे । आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य नेपालका आदिवासी जनजातिहरूको मौलिक कला, संस्कृति, परम्परा, भाषा तथा पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु, नेपाल–जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउनु तथा विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नै संस्कृतिसँग जोड्नु हो।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातीय समुदायका सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य तथा संगीत, जातीय भेषभूषा, भाषा, नेपाली परिकार र नेपालको सांस्कृतिक विविधता झल्काउने कार्यक्रमहरू समावेश गरिनेछन्। नेपाल आदिवासी जनजाति महासंघ जापान कान्साई समितिका संयोजक नरेन थापा मगर ले नेपाली समुदायसँगै जापानी नागरिक, विभिन्न सामाजिक संघ–संस्था, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको बताए । आयोजकले महोत्सवलाई नेपालको मौलिक सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष गर्वका साथ प्रस्तुत गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ।