काठमाडौं - बंगलादेशमा जारी साफ महिला यू-२० च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले श्रीलंकामाथि सानदार जित निकालेको छ । ढाकास्थित वसुन्धरा किङ्स एरेनामा मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ७-० को फराकिलो गोल अन्तरले पराजित गर्यो ।
नेपालको जितमा स्ट्राइकर मिना देउवाले ह्याट्रिक पूरा गरिन् । उनले खेलको ८औं, ४२औं र ७०औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेकी हुन् । त्यसैगरी, नेपालका लागि पूर्णिमा राईले दुई गोल थपिन् भने समीक्षा मगर र सरिता नाथले एक-एक गोल आफ्नो नाममा लेखाए ।
यो जितसँगै नेपालले प्रतियोगितामा महत्त्वपूर्ण ६ अङ्क जोडेको छ । तीन खेल खेलेको नेपालको ६ अंक छ भने शीर्ष स्थानमा रहेको आयोजक बंगलादेशको ९ अंक रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
पराजित श्रीलंका भने प्रतियोगितामा जितविहीन रहँदै बाहिरिएको छ ।