महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा) भित्र राजपा ब्यूँताउनेबारे छलफल भएको छ । निर्वाचन आयोगले जसपाभित्रको विवादबारे छलफल गर्न मंगलबार (भोलि) बोलाएको छ । आयोग जानुअघि अध्यक्ष ठाकुरले नेताहरुसँग छलफल गरेका हुन् । बैठकमा अधिकांश नेताहरुले राजपा ब्यूँताउनेबारे सुझाव दिएको एक नेताले बताए । ती नेताले भने— ‘स्वाभाविक रुपमा त्यो कुरा हुने भइहाल्यो नि । किनकि, पछिल्लो जसपाको छुटाइ पनि उस्तै खालको छ ।’
आयोगमा छलफलका लागि जाँदा आफू कानूनी रुपमा कसरी बलियो बनेर जाने भन्ने विषयबारे छलफल भएको नेता लक्ष्मणलालकर्णको भनाइ छ । ‘निर्वाचन आयोग जाँदा कसरी जाने र कसरी प्रस्तुत हुने भन्नेबारे नै छलफल भयो,’ नेता कर्णले भनेका छन् ।
बैठकमा अध्यक्ष ठाकुरले नै जसपालाई आफ्नो पक्षमा लिनेभन्दा नयाँ दल दर्ता गरेर जाँदा सहज हुने बताएका थिए । अध्यक्ष ठाकुरलाई उद्धृत गर्दै एक नेताले भने— ‘जसपा नै आफूसँग लिनुभन्दा नयाँ दलमार्फत जनतामा गइयो भने राम्रो होला ।’ ती नेताकाअनुसार अध्यक्ष ठाकुरको प्रसङ्गपछि नेता सर्वेन्द्रनाथ शुक्लले पनि सही थामेका थिए ।
राजपा दल दर्ता गर्ने प्रक्रिया आरम्भ गर्दा विश्वासिलो मान्छे हुनुपर्ने धारणा पनि बैठकमा उठेको थियो । विश्वासिलो व्यक्ति नभए अध्यक्ष पदमै बार्गेनिङ्ग गर्नसक्ने प्रसङ्ग पनि बैठकमा उठेको थियो । ‘सरसरती यी विषयहरुमा कुराकानी भयो । निष्कर्षमा भने पुगिएन । यस्तो कुरामा फेरि निष्कर्षमै पुगिहाल्ने पनि भएन,’ ती नेताले भनेका छन् ।
अन्त्यमा वरिष्ठ नेता राजेन्द्र महतोले ‘अहिलेको लागि निर्वाचन आयोगकेन्द्रित नै हौँ’ भनेर भनेर प्रस्ताव गरेका थिए । त्यसपछि बैठक पुनः मंगलबार आयोगले बोलाएकोबारे केन्द्रित भएको थियो । बैठकमा कार्यकारिणी सदस्य राजकिशोर यादव र अमृता अग्रहरीबाहेक प्रायः नेताहरु सहभागी थिए ।