काठमाडौँ- पुस १० गते मध्यान्हसम्म नेपाली राजनीतिमा ‘१०/१५ वर्ष चल्ने’ भनिएको तत्कालीन सत्ता गठबन्धन थियो । क्षणभरमै त्यो भत्किएर हठात् अर्को गठबन्धन बन्यो । अप्रत्याशित रूपमा नेकपा एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भए ।
नेपाली कांग्रेससँगको ‘प्री-इलेक्सन’ गठबन्धन छाडेर प्रचण्ड बालकोट (एमाले अध्यक्ष ओली निवास) पुगेपछि नेपाली राजनीति एकाएक तरंगित बनेको थियो । बालकोटमा बनेको ओली-प्रचण्डसहितको गठबन्धनले कांग्रेस नराम्ररी पछारियो । प्रतिनिधिसभाको पहिलो दल कांग्रेसको संघसहित अधिकांश प्रदेशमा सरकार बनाउने योजना क्षणभरमै भताभुंग भयो ।
सत्ताबाट एक्कासि प्रतिपक्षमा पुगेको कांग्रेसमा केही दिन सन्नाटा छायो । तर गत मंगलबार कांग्रेसले ‘युटर्न’ गरेर फेरि उहाँ नै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । त्यसपछि फेरि नेपाली राजनीतिको रंग फेरिएको छ । एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्ड पछिल्लो समय कांग्रेसप्रति नरम देखिन थालेका छन् । यसले गठबन्धन राजनीतिमा थप संशय उत्पन्न भएको छ ।
उसाे त प्रधानमन्त्री प्रचण्ड आफैले नेपाली कांग्रेससँग हिमचिम बढाएको संकेत दिइसकेका छन् । उनले कांग्रेसलाई पनि राष्ट्रपति र उपराष्ट्रपतिको शक्ति बाँडफाँटमा हिस्सेदारी गराउन पहल थालेका बताएसँगै हिमचिमको आशंकामा बल पुगेको हो । कांग्रेस नेताले राष्ट्रपतिमा चासोबारे औपचारिक प्रतिक्रिया नदिए पनि प्रधानमन्त्री प्रचण्डले शक्ति बाँडफाँटमा कांग्रेसका लागि ढोका खुला गरिसकेका नेताहरू बताउँछन् ।
तर बिहीबार भएको सभामुखको निर्वाचनमा कांग्रेसले हार बेहार्यो । एमालेका देवराज घिमिरे निर्वाचित भए । कांग्रेसबाट इश्वरी न्यौपाने सभामुखका उम्मेदवार थिइन् । मतदानमा घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुँदा विपक्षमा १०० मत पर्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा निर्वाचित हुन बहुमत अर्थात्, १३८ मत भए पुग्थ्यो । सके चुनाव जित्ने नसके मतान्तर कम गर्ने कांग्रेसको प्रयास थियो । सफल भयो भएन ।
अब कांग्रेसको नजर राष्ट्रपति निर्वाचनतर्फ मोडिएको छ । हालका राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिँदैछ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति भनेको तोकेको छैन । तर दलहरूले राष्ट्रपतिको निर्वाचनबारे सक्रियता बढाएका हुन् ।
सत्तामा भाग खोजिरहेको कांग्रेसले राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने नेताहरूले बताएका छन् । त्यसो हुँदा राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धन दल नेकपा एमाले र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । पुरानो पाँच दलीय गठबन्धन भत्काउन सफल भएको एमालेले सभामुख पाएपनि राष्ट्रपतिमा भने अझै आशंका जन्माएको छ। प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई पनि साथमा लिएर जानुपर्ने बताउँदै आएका छन् ।
बिहीबार सभामुखको निर्वाचन सकेर निस्किएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रचण्डले अझै समय बाँकी भएकाले राष्ट्रिय सहमति भए हुन्थ्यो भन्ने लागेको बताए । गत मंगलबार बसेको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसहितका संवैधानिक पदहरूमा सबै दलहरूबीच सहमति गरेर लैजाने प्रस्ताव गरेका थिए । तर, नेकपा एमालेले प्रधानमन्त्रीको उक्त प्रस्तावमाथि असहमति राखेको थियो । बिहीबार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले भने ‘हामीले उठाएको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ, राष्ट्रपतिमा हाम्रो सहमति त्यही हो ।’
राष्ट्रपतिमा एमालेभित्र नेम्वाङ, ईश्वर पोखरेल, डोरमणि पौडेलसहितको नाम पनि चर्चामा छ । अहिलेको सत्ता गठबन्धन टुटाएर सत्ता राजनीतिमा फर्कने प्रयासमा रहेको कांग्रेसले रामचन्द्र पौडेललाई अघि सार्नसक्ने अनुमान गरिएको छ । तर कांग्रेसभित्र पनि राष्ट्रपतिका लागि कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठसहितका आकांक्षी छन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद चन्द्रकान्त भण्डारीले राष्ट्रपतिलाई मिसन बनाएर अहिलेको सत्ता गठबन्धन टुटाउन आफूहरू लाग्ने बताए । ‘माओवादीसहित हामी चुनावमा गठबन्धनमा थियौँ । कांग्रेस नेतृत्वको त्यो गठबन्धन टुट्यो भने यो पनि टुट्छ,’ उनले भने, ‘हामी माओवादीसहित चार पार्टीको गठबन्धनमा चुनावमा गर्यौँ, सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो । अहिले अर्को गठबन्धन बनेको छ, त्यसलाई टुटाउन हामी चाहन्छौँ ।’
राष्ट्रपतिको निर्वाचनसम्ममा समीकरणमा फेरबदल हुने कांग्रेस नेताको आशा छ । कांग्रेस नेता विमलेन्द्र निधिले सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिएपछि सबै सम्भावनाका ढोका खुला रहेको बताए । ‘प्रचण्डजीलाई हामीले विश्वासको मत दिएको हो । राष्ट्रपतिका विषयमा कांग्रेससँग पनि छलफल गर्ने प्रचण्डजीको कुरालाई सकारात्मक रूपमा लिएको छु,’ उनले भने ।