×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बर्दिबास अस्पताललाई साढे तीन लाखका स्वास्थ्य सामग्री

बर्दिबास अस्पताललाई साढे तीन लाखका स्वास्थ्य सामग्री

महोत्तरी- महोत्तरीको बर्दिबास अस्पतालले धनतेरसका दिन रु साढे तीन लाख बराबरका स्वास्थ्य सामग्री प्राप्त गरेको छ । पचासभन्दा बढी कोठाको चारतले भवनको अस्पतालले स्वास्थ्य जाँच र उपचारमा आवश्यक उपकरण प्राप्त गरेपछि साधन सम्पन्न बन्दै गएको छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा समाज विकास केन्द्र महोत्तरीले अस्पताललाई रु तीन लाख ४७ हजार छ सय ६२ मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको थियो । केन्द्रले अस्पताललाई बेबी वार्मर एक थान, इक्जामिनेसन बेड पाँच सेट, इन्स्ट्रयुमेण्ट ट्रली– दुई सेट, ड्रेसिङसेट पाँच, स्ट्रेचर पाँच सेट र ह्वीलचियर पाँच सेट प्रदान गरेको थियो ।

उपकरण प्राप्त भएपछि प्रसूतिकक्ष सञ्चालनका लागि महत्वपूर्ण सहयोग पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्णा महर्जनले बताए । केन्द्रले कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत सामग्री अस्पताललाई प्रदान गरेको जनाएको छ । कोभिड–१९ सघन सङ्क्रमण बढेका बेला बर्दिबास अस्पतालले कोभिड–१९ जाँच (पिसीआर र आरडिटी जाँच), क्वारेन्टिन र भेन्टिलेटरसहितको आइसोलेसन सञ्चालन गरी सेवा प्रवाह गरेकाले सहयोग प्रदान गरिएको केन्द्रले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्माले अस्पताललाई युनिसेफ नेपालले पनि उपकरण दिन लागेको बताए । जिल्लाको सुदूरउत्तरवर्ती क्षेत्रअवस्थित यो अस्पतालबाट महोत्तरीका बर्दिबास, भङ्गाहा, औरही र गौशालासहित छिमेकका सर्लाहीको ईश्वरपुर र धनुषाको मिथिला नगरपालिका क्षेत्रका सर्वसाधारणले स्वास्थ्य सेवा पाउँदै आएका छन् । रासस

प्रतिकृया दिनुहोस्