काठमाडौं - हमासको सशस्त्र शाखा, कस्साम ब्रिगेड्सले गाजामा बन्दी बनाएका ४८ इजरायलीहरूको 'बिदाइ तस्विर' सार्वजनिक गरेको छ । यस तस्विरमा नेपालका विपिन जोशीको पनि फोटो समावेश गरिएको छ । यद्यपि, 'बिदाइ तस्विर' भनिए पनि उनीहरूको हालको अवस्थाबारे कुनै जानकारी खुलाइएको छैन ।
टाइम्स अफ इजरायलले हमासले सार्वजनिक गरेको यो तस्विरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब बढाउने रणनीतिका रूपमा व्याख्या गरेको छ । हमासले इजरायलले गाजामा गरेको व्यापक स्थलगत र हवाई आक्रमणले बन्दीहरूको सुरक्षामा खतरा पुर्याएको दाबी गरेको छ ।
सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले गाजा क्षेत्रको सबैभन्दा ठूलो सहरलाई घेराबन्दी गरी ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेकै बेला हमासले यो तस्विर सार्वजनिक गरेको हो ।
शनिबार अनलाइनमा पोस्ट गरिएको उक्त संकलित फोटोमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ । ती सबैलाई 'रोन अराड' भनेर क्याप्सनमा उल्लेख गरिएको छ । अल जजिराका अनुसार, रोन अराडले सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेनलाई जनाउँछ । अराडको विमान दक्षिण लेबनानमा आक्रमण गर्ने क्रममा बम विस्फोटले क्षतिग्रस्त भएको थियो र उनलाई पामोले कब्जा गरेर पछि हिज्बुल्लाहलाई सुम्पिएको थियो । अराडको मृत्यु भएको विश्वास गरिए पनि उनको वास्तविक अवस्थाबारे कुनै निर्णायक प्रमाण छैन ।
हमासले सार्वजनिक गरेको तस्विरसँगै 'नेतान्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेलामा यो बिदाइ तस्विर हो' भन्ने सन्देश पनि समावेश छ । यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाको युद्ध अन्त्य गर्न हमाससँग कुनै सम्झौता नगर्ने अडान र इजरायली सेनाप्रमुख एयाल जामिरले 'गाजा सिटी विजय' योजनामा आपत्ति जनाए पनि स्थल र हवाई आक्रमण विस्तार गरेको सन्दर्भलाई संकेत गर्दछ ।
इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्दीहरू जीवितै रहेको विश्वास व्यक्त गरेका छन्, जबकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम मात्र जीवित हुन सक्ने बताएका छन् । ट्रम्प र नेतान्याहूले सबै जीवित र मृत बन्दीहरूलाई फर्काउने र हमासलाई 'ध्वस्त' गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
हमासले इजरायली आक्रमण अझै तीव्र हुँदा र स्थल-आक्रमण बढ्दा बन्दीहरूको जीवन जोखिममा पर्ने चेतावनी दिँदै आएको थियो । हमासका अनुसार, केही बन्दीहरू पहिले नै इजरायली बम आक्रमणबाट मारिएका थिए । उक्त सशस्त्र प्यालेस्टिनी समूहले बन्दीहरू गाजाको विभिन्न टोल–छिमेकमा 'छरिएर राखिएका छन्' भन्ने दाबी पनि गरेको छ ।
हमासले यो सूची सार्वजनिक गर्दा शनिबार लाखौं इजरायलीहरू तेल अभिभ र अन्य शहरका सडकमा उत्रेर सरकारको विरोध गर्ने र युद्ध अन्त्य गरी सबै बन्दी फर्काउन तुरुन्तै सम्झौता गर्न माग गर्ने तयारीमा थिए ।
यसै महिनाको सुरुवातमा, हमासले दुई इजरायली बन्दीहरूको भिडियो सार्वजनिक गरेको थियो । त्यसअघि झन्डै एक महिना अघि दुई अत्यन्तै कमजोर देखिएका इजरायली बन्दीहरूको भिडियो प्रसारण गरेको थियो । यी तस्विरहरूले बन्दीका परिवार, इजरायली सरकारी अधिकारीहरू, अमेरिकाका अधिकारीहरू र अन्य इजरायली सहयोगीहरूबीच आक्रोश उत्पन्न गरेको थियो ।