काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने छ । बैठकले कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्नेछ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा गिरिप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोक प्रस्ताव पारित गर्ने उल्लेख छ । गिरि २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट पहिलोपटक सांसदमा निर्वाचित भएका थिए । साथै २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य थिए। यस्तै २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
क्यान्सर रोगबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो। आइतबार उनको पशुपति आर्यघाटमा अन्त्यष्टि भएको छ ।