×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कम आय भएका परिवारका बालबालिका विकासको लयबाट टाढिने जोखिम उच्च

कम आय भएका परिवारका बालबालिका विकासको लयबाट टाढिने जोखिम उच्च

काठमाडौं – ग्रामीण क्षेत्रका कम आय भएका परिवारका बालबालिका विकासको लयबाट टाढिने जोखिम उच्च जोखिम रहेको एक अध्ययनले देखाएको छ । कोभिड–१९ महामारीले नेपालका बालबालिकामा परेको असरबारे बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था युनिसेफले गरेको एक सर्वेक्षणमा उनीहरुको विकास र सिकाइमा रहेको असमानतालाई झन् जटिल बनाएको उल्लेख छ । प्राप्त विवरणअनुसार हरेक पाँचमध्ये एक बालबालिका विकासका लयभन्दा बाहिर छन् ।     
अध्ययनका अनुसार बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थामा समेत असर पारेको पाइएको छ ।  सार्वजनिक अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षास्तर भएका हेरचाहकर्ताको रेखदेखमा रहेका बालबालिका तथा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी नभएका बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिममा छन् ।’
प्रारम्भिक बाल विकास सूचकाङ्क सर्वेक्षण दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकामा गएको अगस्टमा गरिएको थियो । बालबालिका भएका दुई हजार आठ सय ५३ घरधुरीमा सर्वेक्षण भएको छ । कोरोना महामारीले निजी कार्यक्रममा भाग लिनेको तुलनामा सरकारी प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिका विकासको लयभन्दा बाहिर हुने अधिक जोखिममा रहेको उल्लेख छ ।  हेरचाहकर्तासँग किताब पढ्ने, कथा सुनाउने, गीत गाउने, घुम्न जाने, वस्तुको नाम भन्ने, गन्ने, वा चित्र कोर्ने जस्ता बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलाप उनीहरूको विकास र सिकाइको लागि महत्वपूर्ण भएको पाइएको छ । यद्यपि, पूर्व–महामारी अवस्थाको तुलनामा अभिभावकको सङ्लग्नतामा कमी आएको देखाएको छ । गएको अगस्टमा निषेधाज्ञा खुकुलो भएको तर मानिसको जीवन प्रभावित रहेकोे समयमा ३१ प्रतिशत बालबालिका घरका प्रारम्भिक क्रियाकलापमा सङ्लग्न भएका थिए । सन् २०१९ मा ७३ प्रतिशत बालबालिका त्यस्ता क्रियाकलापमा सहभागि भएको पाइएको छ ।  
अक्टोबर महिनामा गरिएको थप सर्वेक्षणअनुसार निषेधाज्ञाबाट सामान्य अवस्थामा फर्केसँगै आमाको सङ्लग्नतामा सुधार भएको तर सामाजिक मानक कायम राख्दै बुबाको अभिभावकत्वको सङ्लग्नता भने न्यून ६ प्रतिशत मात्र देखिएको छ । सर्वेक्षण गरिएकामध्ये आधा जति बालबालिका पूर्वप्राथमिक तहमा भर्ना भएको पाइएको छ । यद्यपि, विद्यालय बन्द हुँदा ३४ प्रतिशत बालबालिका वैकल्पिक विधिको सिकाइमा सङ्लग्न भएका थिएनन् । धेरै जसो बालबालिकाको घरमै ट्यूशनमा पहुँच थियो ।
अनलाइन कक्षा, मोबाइल फोनबाट हुने शिक्षण, रेडियो, टिभी, दूर शिक्षणजस्ता सरकारको आपतकालीन कार्ययोजनाद्वारा निर्दिष्ट गरेका वैकल्पिक सिकाइ माध्यम कम प्रयोग भएका पाइएको उल्लेख छ । रेडियो, टिभी र टेलिफोनमा आधारित शिक्षण सिकाइजस्ता न्यून–प्रविधिसहितका समान पनि कम मात्रै प्रयोग भएको पाइएको छ । अनलाइन कक्षाजस्ता उच्च–प्रविधिसहितका समान निजी प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिकाबीच मात्र प्रयोगमा आयो । कम–प्रविधिसहितका समान र उच्च–प्रविधिसहितका समानको असमान पहुँचले गर्दा निजी प्रारम्भिक बाल शिक्षा र अन्य बालबालिका बीचको विकासात्मक अन्तर देखिनसक्ने जोखिम छ । विकासको लयभन्दा बाहिर हुने उच्च जोखिममा रहेका बालबालिकालाई विशेष ध्यान दिन सुझाइएको छ । 
 

प्रतिकृया दिनुहोस्