×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुगरका मुख्य औषधिमा प्याटेन्ट अधिकार अन्त्य : मूल्य एक तिहाइले सस्तो हुनुपर्ने

सुगरका मुख्य औषधिमा प्याटेन्ट अधिकार अन्त्य : मूल्य एक तिहाइले सस्तो हुनुपर्ने

काठमाडौँ- यो महिनादेखि औषधिको प्याटेन्ट अधिकार समाप्त गरिएकाले मधुमेहविरुद्धको औषधि सिटीग्लिप्टीन सस्तो हुने देखिएको छ । यो औषधि अब हालको मूल्यको एक तिहाइमा भारतमा उपलब्ध हुनेछ किनकि धेरै भारतीय फर्मास्युटिकल्सले औषधिको उत्पादन तत्काल सुरु गर्ने योजना बनाएका छन् । मधुमेहका अधिकांश औषधि भारतबाट आउने भएकाले नेपालमा पनि त्यसको मूल्य एक तिहाइले घट्नुपर्छ ।

सिटीग्लिप्टीन मधुमेह दोस्रो प्रकार- टाइप टु डायबिटिजको उपचारमा प्रयोग गरिन्छ । शरीरले इन्सुलिन उत्पादन वा सामान्य रूपमा प्रयोग नगरेपछि टाइप टु डायबिटिजमा रगतमा चिनीको मात्रा बढी हुन्छ ।

मेटफर्मिन (टाइप टु डायबिटिजको उपचारमा प्रयोग हुने औषधि) जस्ता औषधिहरूबाट साइड इफेक्टको जोखिम रहेका वा शरीरमा राम्रो काम नगरेको अवस्थामा मानिसहरूको उपचारका लागि वैकल्पिक रूपमा सिटीग्लिप्टीन नामक लोकप्रिय औषधि दिइन्छ ।

अमेरिकी फर्मास्युटिकल मर्क एन्ड कम्पनीद्वारा विकसित, सिटीग्लिप्टीनलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन सन् २००६ मा अनुमोदन गरिएको थियो । यो डिपेप्टीडील पेप्टीडेस–४ (डीपीपी ४) को रूपमा चिनिने औषधिको वर्गीकरणमा अनुमोदित पहिलो मधुमेहविरुद्धको उपचार थियो जसले शरीरमा बढेको चिनीको मात्रा कम गर्न शरीरभित्रै क्षमता वृद्धि गर्दछ ।

मर्कले हालसम्म भारतमा जानुमेट ब्रान्ड अन्तर्गत सिटीग्लिप्टीन र मेटफर्मिनको निश्चित मात्रा मिश्रणको मार्केटिङ गर्दै आएको थियो । मर्कसँगको इजाजत पत्र सम्झौता अन्तर्गत, सन फार्माले सिटीग्लिप्टीन र सिटीग्लिप्टीन–मेटफर्मिन संयोजन पनि बजारमा ल्याएको छ । भारतमा औषधिको खुद्रा मूल्य अहिले प्रति ट्याब्लेट ३८ देखि ४५ रुपैयाँभन्दा बढी छ ।

औषधिको प्याटेन्ट समाप्त हुनुअघि राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरण (एनपीपीए) ले गत महिना सिटीग्लिपिन फर्मुलेसनको खुद्रा मूल्य प्रति ट्याब्लेट ८ देखि २१ रुपैयाँ तोकेको थियो ।

रिपोर्टका अनुसार सन् २०१८ मा मधुमेह विरुद्धको औषधिको विश्वव्यापी बजार मूल्यांकन ४८ अर्ब ७५ करोड ३० लाख अमेरिकी डलरको थियो र सन् २०२६ को अन्त्यसम्ममा ७८ अर्ब २६ करोड १० लाख अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

सन् २०१७ को विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिवेदनले भारतमा लगभग ६ करोड ९२ लाख मानिसहरू दोस्रो प्रकारको मधुमेहसँग सामना गर्दै जीवनयापन गरिरहेका छन् र र ल्यान्सेट मधुमेह र एन्डोक्राइनोलजी जर्नलमा प्रकाशित २०१९ अध्ययन अनुसार यो संख्या सन् २०३० सम्म लगभग ९ करोड ८० लाख पुग्ने अनुमान छ ।

मूल्य घट्यो, पहुँच बढ्यो

ग्लेनमार्क र डा । रेड्डीज सहित धेरै भारतीय फार्मास्युटिकल्सले सिटीग्लिप्टीन सुरु गर्ने आफ्नो योजना यो साता घोषणा गरेका छन् ।

“हामीले स्टिग ब्रान्ड नामबाट सिटीग्लिप्टीनको उत्पादन सुरु गर्दैछौ । ‘सुस्वास्थ्यका लागि पर्खन सकिँदैन’ भन्ने हाम्रो उद्देश्यलाई ध्यानमा राख्दै डा. रेड्डीज स्टिग मधुमेहका बिरामीहरूका लागि उपलब्ध सबैभन्दा किफायती मूल्यमा उपलब्ध विकल्पहरू मध्ये एक हुनेछ,” कम्पनीका प्रवक्ताले बताए ।

यसैबिच, ग्लेनमार्कले एक विज्ञप्तिमार्फत भनेको छ- कम्पनीले दोस्रो प्रकारका मधुमेहका बिरामीहरूको पहुँच र किफायती बढाउन सिटाजिट ब्रान्ड नाम अन्तर्गत सिटीग्लिप्टीनमा आधारित औषधिको विभिन्न आठ प्रकारका संयोजनहरू प्रस्तुत गरेको छ ।

“दोस्रो प्रकारको मधुमेह जस्ता दीर्घकालीन रोगहरूमा, बिरामीहरूले लामो समयसम्म धेरै मधुमेहविरुद्धको औषधिहरू सेवन गर्न आवश्यक हुन्छ । यसबाहेक, भारतमा बिरामीहरूले औषधिको लागत आफैँ बेहोर्नुपर्छ । त्यसैले औषधिको मूल्य एक प्रमुख कारक बन्छ जसले उपचारको विश्वसनीयतालाई असर गर्छ । ग्लेनमार्कको सिटीग्लिप्टीन र यसको निश्चित मात्रा संयोजनको मूल्य भारतमा यसको नवीनतम ब्रान्डको लागतको लगभग एक तिहाइ हो,” ग्लेमार्कले एक विज्ञप्तिमार्फत भनेको छ ।

ग्लेनमार्कका प्रवक्ताले बताए अनुसार यस औषधिको मूल्य १० देखि २० भारुको बिचमा हुनेछ, जबकि मर्कले उत्पादन गरेका मिश्रणको मूल्य प्रति ट्याब्लेट २३ देखि ४१ भारुसम्म रहेको छ ।

राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरणको मूल्य नियन्त्रण आदेशले जाइडस, एबोट हेल्थकेयर, आकुम्स, टोरेन्ट, स्काइम्याप र इमक्युर लगायत अन्य धेरै औषधिहरूमा पनि आकस्मिक रूपमा प्रभावित हुनसक्ने देखिएको छ

द प्रिन्टमा प्रकाशित मोहना बसुको रिपोर्टमा आधारित

प्रतिकृया दिनुहोस्