काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गरेका छन् । लामो समयदेखि मेडिकल शिक्षा सुधारको लागि दबाबमुलक अभियान चलाउँदै आएका डा. केसीले आज दिउँसो १ बजेदेखि सत्याग्रह सुरु गरेका हुन् ।
सत्याग्रह सुरु गर्नुअघि साढे १२ बजे उनले गेटामा पत्रकार सम्मेलन समेत गरेका थिए । डा. केसीका सहयोगी डा. अमृत जैसीले सत्याग्रह सुरु भएको जानकारी दिए ।
चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एमबीबीएसमा १,३५९ सिट थपेर २,६३५ पुर्याएको छ भने बीडीएसको सिट ६२५ बनाइएको छ । डा. केसीले सरकारलाई उक्त निर्णय फिर्ता लिन माग गर्दै आएका थिए । निर्णय फिर्ता नभएपछि उनले सत्याग्रह सुरु गरेका हुन् ।
सरकारी कलेजमा सिट बढाउनुपर्नेमा निजी कलेजमा बढाइएको भन्दै सरकारको यस निर्णयको चौतर्फी आलोचना भइरहेको छ । विज्ञहरूका अनुसार यस निर्णयको पछाडि निजी मेडिकल कलेज सञ्चालकहरूको आर्थिक स्वार्थ जोडिएको छ र निजी मेडिकल कलेज सञ्चालकलाई पोस्न प्रधानमन्त्री स्वयं नै अग्रसर भएको उनीहरूको भनाइ छ ।
सिट संख्या बढ्नुले नेपालको चिकित्सा शिक्षाको गुणस्तर खस्किने खतरा बढेको विज्ञहरू बताउँछन् । चिकित्सा शिक्षाको सर्वोपरि उद्देश्य गुणस्तरीय शिक्षा हो र यदि गुणस्तरीय चिकित्सा शिक्षा नहुँदा गुणस्तरीय जनशक्ति उत्पादन नहुने उनीहरूको तर्क छ ।