×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अमेरिका र क्यानाडामा किन बढिरहेको छ गर्मी ?

अमेरिका र क्यानाडामा किन बढिरहेको छ गर्मी ?

टोरन्टो: अमेरिकाको उत्तरपश्चिम प्रशान्त महासागरीय तट र क्यानाडा इतिहासकै सबैभन्दा उखरपाउलो गर्मीको केन्द्रविन्दु बनेको छ । अमेरिकाको उत्तरपश्चिम प्रशान्त महासागरीय तट र क्यानाडाको तापक्रमको ग्राफ यसअघिका सर्वाधिक गर्मीको कीर्तिमा तोड्दै उकालो लागेको छ । शनिबार सिआटलको तापक्रम ३८ डिग्री सेल्सियस थियो । जुन महिनामा यति धेरै तापक्रम कहिल्यै मापन गरिएको थिएन ।

अमेरिकाको नेशनल वेदर सर्भिसले वाशिङटन, ओरेगन, क्यालिफोर्निया र आइडाहो राज्यमा गर्मीबारे चेतावनी जारी गरेको छ ।

क्यानाडामा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । लेट्टनमा आइतबारको तापक्रम ४६.६ डिग्री सेल्सियस थियो । यसले ८४ वर्ष पुरानो कीर्तिमान तोड्यो ।

ती स्थानहरूमा सामान्यतया तापक्रम उच्च नहुने भएका कारण घरहरू वातानुकूलित नभएको बताइन्छ । धेरै मानिसहरू गमीबाट बच्न पोखरी, समुद्र छेउ, नदी सडकका पानीका फोहरा र होटलमा जम्मा भएका छन् । केही सहरहरूमा नागरिकका लागि वातानुकूलित वासस्थानको व्यवस्था गरिएको छ


यसरी तापक्रम उच्च हुनुका कारण ‘हिट डोम’ भनिने मौसमी अवस्था भएको बताइएको छ ।
‘हिट डोम’ आकाशमा धेरै तातो हावा माथि उठ्दा निश्चित क्षेत्रलाई त्यसले पर्वत आकारको घेरा बनाइ ढाक्ने अवस्थालाई भनिन्छ ।

अन्य अवस्थामा तापक्रम बढ्दा तातो हावाको पातलो तह हुने भए पनि ‘हिट डोम’ को अवस्थामा तातो हावा बाक्लो तहले प्रभावित क्षेत्रमा हावाको दबाब र बहावमा प्रभाव पर्न सक्ने बताइन्छ ।

‘हिड डोम’ पकाउने भाँडामा बिर्को लगाए जस्तो काम गर्ने र जति समय उच्च दबाब रहन्छ उति नै तापक्रम बढ्ने क्रम जारी रहने विज्ञहरू बताउँछन् ।

अहिले त्यहाँको उच्च दबाब क्षेत्र आकारमा विशाल रहेको र क्यालिफोर्नियादेखि क्यानाडाको आर्कटिक क्षेत्रसम्म फैलिएको बताइएको छ ।

स्वास्थ्य चेतावनी गरिएको भए पनि धेरैलाई घमाइलो दिन र सफा आकाशले रमाइलो पनि दिएको छ ।
तर, बालबालिका, बिरामी र वृद्धहरूलाई असहज भएको छ ।

अमेरिकामा विद्यालय र  कोभिड परीक्षण केन्द्रहरू बन्द गरिएका छन् भने ओलिम्पिक्स एथेलेटिक्स छनौट प्रतियोगिता स्थगन गरिएको छ ।

त्यहाँको तापक्रम अझै केही दिन बढ्न सक्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्