काठमाडौं। गत भदौमा आन्दोलन गरि दुईदिनमै देशमा उथलपुथल ल्याएको जेनजी समुहमा अहिले चरम रुपमा नेतृत्व अभाव खड्किएको छ। सुरुवातबाटै खड्किएको नेतृत्वको अभाव एक महिना मात्रै पार गरिसक्दा यतिबेला जेनजीहरु नै टुटफुट र तितरबितर हुन थालेका छन् । जसले गर्दा जेनजी आन्दोलन र ६ दर्जन बढी सहिदको सपनामा तुसारापातको जोखिम बढ्दै गएको छ यसले शहिदका परिवार निराशा बढ्न थालेको देखिन्छ।
देशमा कायम चरम भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी युवाहरुको समुहले गत भदौ २३ गते थालेको प्रदर्शनमा डेढ दर्जन बढी प्रदर्शनकारीको सहादत र हजारौं घाइते हुने गरी भएको घुसपैठ र सरकारी दमनले भोलिपल्ट विध्वंसात्मक रुप लिँदै दोहोरो मुठभेड, आगजनी तथा तोडफोडमा पुग्दा मुलुकले ठुलो धनजनको क्षति भोग्नु पर्यो।
आन्दोलनकै कारण देशका प्रमुख निकाय सर्वोच्च अदालत, सिंहदरबार, संसद भवनदेखी अधिकांश प्रसाशनिक निकायसँगै निजि व्यापारिक प्रतिष्ठान र निवासहरु ध्वस्त हुँदा अहिलेसम्म ७६ जनाको मृत्यु र हजारौं घाइते पुष्टि हुँदा खर्बौको क्षति पुग्यो।
तर आन्दोलनले नै तत्कालिन केपी ओली नेतृत्वको सरकार नै बहिगर्मनमा पारेपछी बनेको अन्तरिम सरकार पनि यतिबेला खबरदारीका लागी आन्दोलनकारी जेनजी समुहको नेतृत्व अभाव खड्किदा सरकार नै आन्दोलनको मर्मअनुसार चल्न सकेको देखिँदैन।
यसले जेनजीसँगै, सहिद परिवार, आम सर्वसाधरण, राजनैतिक दलहरुमा चरम असन्तुष्टि बढ्दो देखिन्छ। त्यससँगै एकजुट हुनुपर्ने जेनजीहरु नै अहिले नेतृत्व लिने होडबाजीमा लागेर छुट्टाछ्टै समुह तथा दल निर्माणमा जुट्दा एकतिर आन्दोलन तुहिने जोखिम बढेको हो ।
अर्कातिर पुराना राजनैतिक दलहरुलाई आलोचना गर्दै पुनः हाबी हुने वातावरण मिल्दा जेनजी आन्दोलनका सहिद परिवारमा आन्दोलनसँगै बलिदानी खेर जाने चिन्ताले पिरोल्न थालेको छ।
अहिले सहिद परिवार आन्दोलन र सहिदको बलिदानीबाटै बनेको अन्तरिम सरकार नै आन्दोलनको मर्म र भावनाअनुसार चल्न नसकेको, दोषीलाई कारबाहीको दायरामा ल्याउने कुरामा वेवास्ता गरेको, बलिदान दिएका कतिपयलाई अहिलेसम्म सहिद घोषणा नगरेको र देश पुनः पुरानै हालतमा जाने जोखिम बढेको गुनासो गर्न थालेका छन्।
अहिलेको सरकारकै कारण जेनजी आन्दोलन तुहिने जोखिम बढेकोले सबै जेनजीहरु टुटफुटतर्फ नभै एकजुट हुनुपर्नेमा जोड दिँदै दवावमुलक र पुनः आन्दोनमा उत्रिने तयारी सुरु गरेका छन्।
यस्तै जेनजी अगुवाहरु पनि अहिले जेनजीहरु नै एकढिक्का नहुँदा जेनजी आन्दोलनले बनाएको सरकार नै आन्दोलनकै मर्म र भावनाअनुसार नहिँडेको बताउछन्।
जेन–जी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा सहभागी अगुवाहरुले अहिले जेनजीहरुमै आएको टुटफुट, विभाजन र समुह तथा पार्टी निर्माणले आन्दोलन तुहिने जोखिम बढेको र सरकार पनि गलत बाटोमा हिँडेको बताउन थालेका छन्।
यस्तै जेनजी अभियान्ता एवं हामी नेपालका संयोजक सुदन गुरुङले पनि राजनीतिक दलहरूले जेन–जीलाई विभाजित गर्ने प्रयास गरेको दाबी गर्नुभएको छ।
अहिले जेन–जीको एकता बिथोलेर पुराना दलका नेताहरु जेन–जी भन्दा कांग्रेस एमाले नै ठीक हो भन्ने भास्य बनाउन खोजिरहेको भन्दै आफूहरूले पाइला चाल्नुअघि हरेक मुभको हिसावकिताब गरिरहेकोले त्यस्तो दुस्प्रयास नगर्न चेतावनी दिनुभयो।
यसतर्फ ख्याल गर्न जेनजीहरुलाई आह्वान गर्दै गुरुङ्गले अहिले फुटेर हिड्ने समय नरहेकोले देशका लागी एकजुट र एकढिक्का हुनुपर्ने भएकोले एकजुट नै रहने जिकिर गर्नुभयो।
मुलुकमा भ्रष्टाचार र कुशासनले चरम सिमा नाघेपछी बढेको वितृष्णा जेनजीमार्फत पोखिँदा भएको ठुलो जनधनको क्षतिसँगै आएको उथलपुथल अहिले थेग्न नै भारि पर्दै गएको देखिन्छ।
त्यसमाथी दुइदिनमै यत्रो परिवर्तन ल्याएको जेनजी समुह नेतृत्वको अभावमा आज तितरबितर हुन पुग्दा आन्दोलनमा घुसपैठ गर्ने र आन्दोलनको मर्म र भावना तुहाउन खोज्ने स्वार्थ समुह फेरि चलखेलमा सलबलाउन थालेका छन् जसले आन्दोलनकै बलमा तत्कालिन सरकार बहिगर्मनमा परेपछी बनेको अन्तरिम सरकारले नै आन्दोलनको मर्म भुल्ने जोखिम बढेको छ।
फस्वरुप आन्दोलन तुहिने र सहिदको बलिदानी खेर जाने जोखिम बढ्दै गएको छ। तसर्थ यसतर्फ मुलतः जेनजी समुह र सरकार जिम्मेवार बन्न जरुरी छ।।