काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले सभामुखलाई ताल्चा-चावी बुझाएका छन्। संसदमा ओलीको आलोचना गरेको भन्दै संसद अवरुद्ध गरिएकोमा उनले व्यङ्ग्य गर्दै सभामुखलाई ताल्चा-चावी बुझाएका हुन्।
सांसद महतले भने, ‘प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ। म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु। उहाँहरू धित मरुन्जेल ३ घण्टा गाली गर्नुहुन्छ। र, धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ। फेरि ताला लगाउन खोज्नुहुन्छ।
त्यसकारण मैले ताला र चावी ल्याएको छु सभामुख महोदय। तपाईंहरु धित मरुन्जेल बोल्नुहोला त्यसपछि हामी बोल्दा यो ताला र चावी लगाइदिनुहोला। र, जतिबेला बोल्ने मन लाग्छ आउनुहोला र यो ताला-चावी खोल्नुहोला अनि बोल्नुहोला, मैले सभामुखज्यूलाई बुझाए।’ उनले गाली गर्नेलाई संसदमा बोल्न ३ घण्टा र कर्णालीको आवाज बोल्नेलाई ३ मिनेट छुट्याइएकोमा आपत्ति जनाए।